म्याग्दीमा दुर्लभ हाब्रे (रेडपाण्डा) भेटियो

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–२, स्थित जलजला जङ्गलमा दुर्लभ जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । लुलाङको जलजला क्षेत्रको धन्सेमाने जङ्गलभित्र रुखमा खेल्दै रमाइरहेको अवस्थामा रेडपाण्डा भेटिएको मरेनीका स्थानीय सुवास थापाले बताए ।

‘‘केही दिनअघि जङ्गलमा च्याउ टिप्न गएको समयमा जलजला क्षेत्रको धन्सेमाने जङ्गलभित्र करिब २५ मिटर टाढा रुखमा खेल्दै रमाइरहेको अवस्थामा रेडपाण्डा देखिएको हो । विश्वमै दुर्लभ मानिएको जनावर देखेर भिडियो बनाउनेक्रममा हामीलाई देखेपछि भाग्यो’’, उनले भने । थापाले खिचेको करिब २ मिनेट १२ सेकेण्डको भिडियोमा लजालु स्वभावको रेडपाण्डाले पैदल यात्रीलाई देखेर रमाइरहेको देख्न सकिन्छ । उनका अनुसार तीन वर्ष पहिले पनि सोही जङ्गलमा त्यस्तै रेडपाण्डा भेटिएको थियो ।

वडा १ गुर्जा र २ लुलाङको जङ्गलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । सर्वसाधारणले रेडपाण्डाको भिडियो खिचेपछि धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा पालिकास्तरबाटै सचेतनामूलक अभियान सञ्चालन गरिने बताए । ‘‘म्याग्दीको जलजला क्षेत्रको जङ्गलमा रहेका रेडपाण्डाको संरक्षण गर्न स्थानीय समुदायलाई सक्रिय बनाउँछौं’’, उनले भने, ‘‘दुर्लभ जनावरको संरक्षण गर्न सकेमा अध्ययन तथा अनुसन्धानका लागि गन्तव्य बनाउने मौका पनि हो ।’’

विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले गरेको अध्ययनका क्रममा समुदायस्तरमा गरिएको अभियान प्रभावकारी भए पनि नियमित कार्यक्रम नहुँदा समस्या भएको छ । करिब ७ वर्ष विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन शिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला परेको अनुसन्धानकर्ता बन्द्री पाण्डेले बताए । तत्कालीन समयमा रेडपाण्डाको महत्वबारेमा वडा १ गुर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रम गरी जानकारी गराइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर