भूकम्पको त्रासका कारण बझाङ अस्पताल प्रांगणमै बच्चा जन्माइयो

काठमाडौं । आज दिउँसो गएको भूकम्पका कार जिल्ला अस्पताल बझाङमा भर्ना भएकी एक महिलाको अस्पताल प्राङ्गणमा अर्थात् खुला स्थानमा राखेर बच्चा जन्माइएको छ । तल्कोट गाउँपालिका–१ की २० वर्षीया मनीषा ऐरी प्रसव वेदनाले छट्पटाई रहेकी बेला भूकम्प गएपछि स्वास्थ्यकर्मीले उनलाई अस्पतालको प्राङ्गणमा सारेर नर्मल डेलिभरी गराइएको अस्पतालका डा. इन्द्र शाहले जानकारी दिए । डेलिबरीपछि पनि सुत्केरी र नवजात शिशुलाई बाहिर नै राखिएको थियो ।

“भूकम्प गएपछि अस्पतालमा उपचाररत सबै बिरामीलाई बाहिर राखिएको र आधा बिरामी अहिले पनि बाहिरै छन्”, उनले भने । यस्तै, भूकम्पले संरचना भत्किँदा घाइते भएकाहरू पनि उपचारका लागि अस्पतालमा भर्ना हुने क्रम जारी रहेको छ । मंगलबार अपराह्नसम्म नौ जना घाइते भर्ना भइसकेको डा. शाहले बताए ।  बझाङको तल्कोट आसपास केन्द्रबिन्दु भएर मंगलबार दिउँसो २ः४० बजे ५.३ रेक्टरस्केल र त्यसपछि आधा घण्टाको फरकमा चैनपुर केन्द्रबिन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले बझाङमा धेरै भौतिक संरचना भत्किएको छ । त्यस्तै, घरहरू चर्किएका छन् । भूकम्पको धक्का प्रदेशको पहाडी जिल्लासहित कैलाली, कञ्चनपुरमा समेत महसुस भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर