स्रोत नखुलेको १० लाख भारुसमेत तीनजना भारतीय पक्राउ

काठमाडौं । रूपन्देहीको बेलहिया नाकाबाट स्रोत नखुलेको १० लाख भारुसहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नं. २७ गणका अनुसार आइतबार राति ९ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका तीन भारतीयको साथबाट बिओपी चेक पोस्ट अगाडिबाट जाँचका क्रममा उक्त भारु बरामद भएको हो । तीन जनामध्ये एक जनाको साथबाट नौ लाख र अन्य दुई जनाको साथबाट ५०–५० हजार भारु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २७ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बताए । बरामद गरिएको सबै पाँच सय दरको नोट रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षका अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेको प्रहरी उपरीक्षक थापाले बताए । पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ । बरामद रकम र दुईवटै भ्यान राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर