मलङ्गवामा ‘कर्फ्यु’ पूर्णरूपमा हट्यो

काठमाडौं । सर्लाहीकाे सदरमुकाम मलङ्गवामा लाग्दै आएको ‘कर्फ्यु’ पूर्णरूपमा हटाइएको छ । यसअघि असोज ८ गते दिउँसोकाे कर्फ्यु हटाइएको थियो भने राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लगाइँदै आएको थियो ।

हिजो बसेको सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले चारबुँदे निर्णय गर्दै मलङ्गवामा जारी कर्फ्यु आदेशलाई पूर्णरूपमा निष्क्रिय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । असोज ४ गते बिहीवार राति १० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो । त्यसपछि असोज ८ गतेदेखि दिउँसोको कर्फ्युलाई हटाइएको थियो भने राति ८ देखि बिहान ४ बजेसम्म कर्फ्यु आदेशलाई निरन्तरता दिँदै आएको थियो ।

सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले आउँदो १८ गते मलङ्गवामा बृहत् सद्भाव र्याली आयोजना गर्ने, सदियौँदेखि विभिन्न धर्मावलम्बीबीच कायम रहेको सामाजिक सद्भाव एवं भाइचारा कायम राख्न सबै पक्षले आ–आफ्नो दायित्व निर्वाह गरी सहयोग गर्ने र कृष्णाजन्माष्टमी मूर्ति विसर्जनका क्रमदेखि गणेश पूजाको मूर्ति विसर्जनसम्म भएका घटनामा सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर