महिला कबड्डीमा नेपाल आज बङ्लादेशसँग खेल्दै

काठमाडौं । चीनमा भइरहेको १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । यो खेल चीनको हाङझाउमा बिहान ८ बजे हुनेछ ।

नेपालले आजको खेल जिते कम्तीमा पनि कास्य पदक जित्ने निश्चित हुनेछ । महिला कबड्डीमा नेपाल पछिल्लो दक्षिण एसियाली खेलकुदको रजत पदक विजेता हो । त्यतिबेला नेपालले बङ्लादेशलाई हराएको थियो ।

यस्तै, आजै भारत र चाइनिज ताइपेइ तथा थाइल्यान्ड र दक्षिण कोरिया पनि खेल्ने छन् । भारत र चाइनिज ताइपेइबीचको खेल दिउँसो साढे १ बजे तथा थाइल्यान्ड र दक्षिण कोरियाबीचको खेल दिउँसो साढे २ बजे हुनेछ ।

यस्तै, आर्चरीको पहिलो दिन हिजो नेपालका चारै जना खेलाडीले छनोट चरण पार गरेका छन् । महिलामा इमायुङ राई र मञ्जु बजगाईँ तथा पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन छनोट चरण पार गर्न सफल भएका हुन्  । यस्तै, फुलमति रानाले एसियाली खेलकुदको १५ सय मिटर दौडमा १५औँ स्थानमा अन्त्य गरेकी छिन् ।

उनले निर्धारित दूरी ४ मिनेट ३७ दशमलव ६४ सेकेन्डमा पूरा गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनको समयमा सुधार गरिन् । यो विधामा बहराइनकी मुतिल विनफ्रेडले स्वर्ण, भारतकी हरमिलन बेइन्सले रजत र बहराइनकै हिरपातो मार्ताले कास्य पदक जितिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर