आज भक्तपुरमा इन्द्रजात्राअन्तर्गत मूपात्र जात्रा

काठमाडौं । इन्द्रजात्राको छेकोमा मनाइने भक्तपुरको मूपात्र जात्रा आज आइतबारदेखि सुरु भएको छ । विभिन्न धार्मिकग्रन्थका आधारमा तयार पारेको मूपात्र जात्रा तीन दिन मनाउने प्रचलन छ ।

जात्रामा मूपात्र प्रमुख र धेःचा नामक अन्य दुई जना सहायकसहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ लगाई शृङ्गारपटारका साथ तरवार समात्न लगाई भक्तपुर नगर परिक्रमा गराउने चलन छ ।

नगर परिक्रमा गर्दा भक्तपर नगरको टोल–टोलमा ठड्याइएको यमःद्योलाई मूपात्र राक्षसले तीन पटक घुमेर तरवारले हान्ने गर्छन् । जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याः मता (आकाश दीप) बालिन्छ । इतिहासकारका अनुसार याः मता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याः मता हो ।

आज तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर शहर परिक्रमा गराइन्छ । त्यसपछि मूपात्र जात्रा निकालिन्छ । जात्रामा याः मता, गणेश र मूपात्रलाई यमःद्यो भएको ठाउँमा परिक्रमा गराइन्छ । जात्राको दोस्रो दिन बेलुका गोल्मढी टोलका मानन्धर समुदायको याः मतासँगै चोछें टोलको छुमा गणेशको जात्रा मनाइन्छ । यस दिन गोल्मढीको मानन्धर समुदाय छुमा गणेश कहाँ गएर सुकुन्दा बालेर आइसकेपछि गोल्मढी मानन्धर चोकमा एउटा याः मता बालेर जात्रा सुरु गरिन्छ ।

याः मता बालिसकेपछि चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी लायकुली (दरबार स्क्वायर) स्थित तुलजा भवानीको दर्शन गराइन्छ । याः मता दरबार लायकुली पुगेपछि विभिन्न बाजागाजाका साथ याः मता, छुमा गणेश र मूपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ । राति सँला गणेश र छुमा गणेशलाई आ–आफ्नो द्योःछे (देवगृह) मा लगिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर