रास्वपाको जमानत जफ्त हुने गरी काम गरी देखाउन पुराना पार्टीलाई चुनौती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पुराना दलहरूलाई संसदको बाँकी चार वर्ष अवधिमा काम गरेर देखाउन चुनौती दिएका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष लामिछानेले देशमा व्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रूपमा अबको चार वर्षलाई लिन तपाइँहरू सबै मिल्नुस् भन्दै देशका तमाम समस्या सुल्झाउन हामीबाहेकको सहमतीय सरकार बनाउन पनि सुझाव दिएका छन् ।
उनले शुक्रवार लेखेका छन्, ‘हामी प्रतिपक्षीको मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाकछोप गरी प्रमाण लुकाएर, थप अपराधीहरूलाई छुटाउने र बचाउने हो ? त्यो तपाइँहरूको जिम्मा ।’

उनले लेखेका छन्, ‘तर “मिशन ८४“ भनेर तपाइँहरूले भनेको त फिटिक्कै सुहाएन। तपाइँको लागि त मिशन ८० नै छ त ! मिशन ०७ सालदेखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त ! अवसर नै अवसर थियो होला । अझ मिशन ८०, मिशन ८१, मिशन ८२, मिशन ८३ छदै छ त ! यो चार वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याइँवाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनुस् ।’

अध्यक्ष लामिछाने लेख्छन्, ‘जनताले तपाइँहरूलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफ्त होस् । चारवटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाइँहरुसँग ४–४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर ! !  कि तपाइँको कि हाम्रो । ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला ।’

अध्यक्ष लामिछानेको पूर्ण लेखाई यस्तो छ:-

सम्पुर्ण पुराना दलहरुलाई अपिल:
देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा।
तर “मिशन ८४” भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन। तपाईको लागि त मिशन ८० नै छ त! मिशन ०७ साल देखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिशन ८०,मिशन८१,मिशन८२, मिशन ८३ छदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ,लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।
राजनितीको एउटा सटर त बन्द हुनै पर्छ हजुर!! कि तपाइको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु,सोच्नु होला।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर