इजरायलीलाई अमेरिका जान भिसा नचाहिने

काठमाडौं । इजरायलले प्यालेस्टिनी र अरब, अमेरिकाविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ ।

आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने इजरायलीलाई तीन महिनासम्म अमेरिकामा बस्ने अनुमति प्राप्त हुनेछ तर निजले अमेरिका प्रवेश गर्नुअगावै आफ्नो भ्रमणको अभिलेख अध्यागमन विभागमा दर्ता गराउनुपर्नेछ ।

‘असामाजिक एवं गैरकानुनी गतिविधि गर्नसक्ने ठानेर अमेरिकी अध्यागमन अधिकारीले निजलाई प्रवेशमा रोकसमेत लगाउन सक्नेछ’, अध्यागमन अधिकारीलाई दिइएको अधिकारको एक बुँदामा भनिएको छ । होमल्याण्ड सेक्युरिटीले निर्धारण गरेका पूर्वशर्तको पालना नभएमा इजरायलीले प्रवेशाज्ञा पाउने छैनन् ।

बाइडेन प्रशासनको यो घोषणाबाट इजरायलले अमेरिकामा प्रतिष्ठित स्थान प्राप्त गरेको छ । संसारका एक सय ९३ भन्दा बढी मुलुकमध्ये करिब ४० देशलाई मात्र अमेरिकाले ‘भिसा लिनुनपर्ने’ सुविधा र सम्मान दिएको छ । बाइडेन प्रशासनले वासिङ्टन, जेरुसेलम र रियादबीच चलिरहेको त्रिदेशीय वार्ताको परिणामका रुपमा पनि लिइएको छ । अब इजरायलले प्यालेस्टिनीहरूसँग राम्रो व्यवहार गर्ने अपेक्षा गरिएको छ भने इजरायलमा साउदी लगानी बढ्ने आशा गरिएको छ । अमेरिकी मध्यस्थतामा साउदी र इजरायलबीचको सम्बन्ध सामान्य बन्दै गएको छ । गत साता साउदी अरबको एउटा उच्चस्तरीय टोली प्यालेष्टिनी क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएको थियो ।

“भिसा छुट कार्यक्रममा इजरायललाई सहभागी गराउनु हाम्रो साझा सुरक्षा चासो हो, यसले हाम्रा दुई देशबीचको घनिष्ठ सहयोग र सहकार्यलाई प्रतिविम्बित गरको छ,” होमल्याण्ड सुरक्षा सचिव अलेजान्ड्रो मेयोर्कासले एक वक्तव्यमा भनेका छन्, “यसले संयुक्त राज्य अमेरिका र इजरायल बीचको एक दशकभन्दा बढीको काम र समन्वयलाई प्रतिनिधित्व गर्दछ, यसले आतङ्कवादविरोधी सहकार्य, कानुन प्रवर्तन र हाम्रा अन्य साझा प्राथमिकताका क्षेत्रमा मिलेर काम गर्न प्रेरणा दिएको छ ।”

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले अमेरिकी निर्णयको स्वागत गरेका छन् । अमेरिकाका लागि इजरायलका राजदूत माइकल हर्जोगले पनि अमेरिकी घोषणालाई दुई देशबीचको सम्बन्धमा महत्वपूर्ण उपलब्धि भन्दै त्यसको प्रशंसा गरे । “यसले हाम्रो विशेष सम्बन्धलाई झल्काएको छ, जसले जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ”, सामाजिकस सञ्जाल एक्समा उनले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर