कोरियन एअरलाई टिकट नबेच्न प्राधिकरणको चेतावनी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जाडो याम (विन्टर सिजन) का लागि टिकट नकाट्न कोरियन एअरलाई जानकारी गराएको छ । कोरियन एअरले दुई देशबीचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी उडान गर्दै आएको र नेपाल वायुसेवा निगमको नियमित उडानलाई प्रभावित पार्दै आएको जनाउँदै अक्टोबर अन्त्यदेखि टिकट नबेच्न निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार कोरियन एअरको नेपालका लागि जनरल सेल्स एजेन्ट युनिभर्सल ट्राभल्सलाई टिकट नबेच्न निर्देशन दिइएको हो । उनले भने, “निगमले लामो समयदेखि कोरियामा उडानको तयारी गरिरहे पनि उडान तालिकाको निश्चित नभएपछि प्राधिकरण जाडोयामका लागि यो निर्णयमा पुगेको हो ।” कोरियन एअरले एकतर्फी उडान गर्दा भाडामा प्रतिस्पर्धा नभएको तथा उसको एकाधिकारले यात्रु मारमा परेको गुनासो बढेपछि टिकट बिक्री गर्न रोक लगाइएको उनले बताए ।

कोरियन उड्डयन कार्यालयले कहिले नेपाल एअरलाइन्सको अडिट गर्नुपर्ने त कहिले प्राधिकरणको अडिट गर्नुपर्ने कारण देखाउँदै आलटाल गरेपछि प्राधिकरणले उक्त निर्णय गरेको हो । नेपालबाट ट्रान्जिट भएर कोरिया जाने यात्रुको तुलनामा सीधा उडानमार्फत कोरिया जाने यात्रुले महँगो टिकट लिँदै आएका छन् । चीनलगायतका मुलुकमा ट्रान्जिट भएर कोरिया जाँदा बढीमा ८० हजार रुपैयाँ हवाई भाडा लाग्दै आए पनि कोरियन एअरले सीधा उडानमार्फत डेढ लाख रुपैयाँभन्दा बढी लिँदै आएको प्राधिकरण स्रोतले जनाएको छ । यसबाट रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जाने नेपाली युवा बढी मारमा पर्ने गरेका छन् ।

नेपाल र कोरियाबीच सन् २००१ मा भएको हवाई सेवा सम्झौता सन् २००४ मा संशोधन भएको थियो । सम्झौताबमोजिम हाल कोरियन एअरले काठमाडौं–सिओल रुटमा साताको पाँच वटा उडान गर्दै आएको छ । सोही सम्झौताअनुसार नेपालबाट कोरियामा उडानका लागि ६ वर्षअघि नै निगमलाई सीधा उडानको अनुमति दिन कूटनीतिक पहलसहित पत्राचार गरिएको थियो तर कोरियाको नियामक निकायले कहिले निगमको सेफ्टी अडिट गर्नुपर्ने त कहिले प्राधिकरणको अडिट गर्नुपर्ने भन्दै विभिन्न बहाना गरेर अनुमतिको प्रक्रियालाई लम्ब्याउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर