मेलम्चीको पानी पुनः वितरण गर्नेसम्बन्धमा अन्योल कायमै
काठमाडौं । काठमाडौं उपत्यकामा वर्सात्मा रोकिएको मेलम्चीको पानी आउँदा कुन लिनदेखि पुनः वितरण गर्ने भन्नेमा अन्योल अझै हट्न सकेको छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड र मेलम्ची खानेपानी विकास आयोजनाले वर्सातेका कारण असार लाग्नु अघि नै पानी वितरण बन्द गरेको थियो ।
सरकारले मेलम्ची आयोजनाको मुहान स्थलमा बाढीले पुर्याएको पछिल्लो क्षति र त्यसको पुनःनिर्माणको विषयमा अहिलेसम्म कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । साउनको अन्तिम साता आयोजना स्थलमा थप क्षति पुगेपछि त्यसमा पुगेको क्षतिको विस्तृत अध्ययन हुन नसकेको उनको भनाइ छ । उनले भने, “सरकारले पुनःनिर्माण कहिले र कसरी गर्ने भनी निर्णय गरेपछि काम गरिनेछ ।”
वर्षा सुरु हुनुपहिले सुरुङ बन्द गर्दा वर्षा सकिएपछि तुरुन्त पानी चलाउने गरी योजना बनाइएको थियो । गत साउन २८ र २९ गते ठूलो बाढी आ्एर मेलम्चीको मुहान क्षेत्र पुरिएको थियो । अहिले पहुँच मार्ग समेत बगेको अवस्थामा भएकाले तत्काल पानी चलाउन सक्ने स्थिति नभएको उनको कथन रहेको छ ।
अहिले तत्काल ‘हेडवर्क’सम्म पुगेर काम गर्न सकिने अवस्था नभएको सूचना अधिकारी पन्तले बताए । पानी पर्न छाडेर नदीमा पानीको बहाव स्थिर भएमा त्यसपछि मात्रै हेडवर्कमा उपकरण लगेर सफाइ र मर्मतको काम गरिने उनले जानकारी दिए । सुरक्षा अपनाउँदा अपनाउँदै गेट नम्बर १ र ९ पुरिएको देखिएको उनले बताए ।
सरकारले दुई वर्षसम्म पानी आपूर्ति अस्थायी रूपमा चलाएको थियो । सरकारले अस्थायी रूपमा चलाउने हो भने त्यसका लागि गर्नुपर्ने काम कसरी गर्ने भनी निर्णय हुनुपर्ने सूचना अधिकारी पन्तले बताउँदै भने, “सरकारले निर्णय गरेपछि अस्थायी रूपमा चलाउन तयारी गरिनेछ ।”