कूटनीतिमा प्रचण्डको ‘छोरी मोह’ झल्केको हो ?

प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली चियाङसँग गरेको प्रतिनिधिमण्डल स्तरीय भेटवार्तामा उनकी छोरी एवं स्वकीय सचिव गङ्गा दाहाललाई पनि प्राथमिकताका साथ सहभागी गराएपछि त्यसबाट गम्भीर सवालहरू खडा भएको कूटनीतिक मामिलाका विज्ञहरूले जनाएका छन्।

खासगरी सरकार प्रमुखले यस्ता उच्चस्तरीय भ्रमण गर्दा हुने प्रतिनिधिमण्डलस्तरीय बैठकहरूमा दुवै देशका उच्च सरकारी अधिकारीहरू मात्र सहभागी हुने गर्छन्। उनीहरूको जिम्मेवारी महत्त्वपूर्ण दुईपक्षीय मुद्दामा सरकार प्रमुखलाई छलफलका लागि सघाउनु हुने परराष्ट्र मन्त्रालयका पूर्व अधिकारीहरू बताउँछन्।

श्रीमती वा निकट पारिवारिक नातेदारको हैसियतमा औपचारिक भ्रमण दलमा सहभागी भएर जाने व्यक्तिहरू दिवा वा रात्रीभोज बाहेक मूलभूत रूपमा आतिथेय मुलुकका विभिन्न स्थानहरूको अवलोकन वा अन्य खालका सामाजिक गतिविधिमा व्यस्त हुने अभ्यास रहेको बताइन्छ। तर एशियाली खेलकुद आयोजना भइरहेको चिनियाँ शहर हान्झाओमा राष्ट्रपति सीसँग र राजधानी बेइजिङमा प्रधानमन्त्री लीसँग भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीले उनकी निजी सचिवसमेत रहेकी छोरीलाई आफूसँगै सहभागी गराएको विषयमा परराष्ट्रमन्त्रालयले जवाफ दिनुपर्ने कूटनीतिक प्रोटोकल मामिलाका जानकार एक जना पूर्व प्रशासकले बताएका छन्। प्रधानमन्त्रीकै दलका एक जना नेताले बीबीसीसँग उक्त विषयबारे आफूले थप बुझ्ने र पार्टीको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्ने टिप्पणी गरेका छन्।

अभ्यास के छ?

प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कबाट सोझै बेइजिङमा अवतरण गर्नुअघि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाली प्रधानमन्त्रीको चीन भ्रमण दलमा उनकी छोरी गङ्गा दाहाललाई पनि समावेश गरेको विषय प्रमुखताका साथ राखिएको थियो। सरकारी प्रतिनिधिमण्डलका सदस्यमा परराष्ट्रमन्त्री एनपी साउदसहित तीन जना मन्त्रीहरू पनि छन्। यसअघि नयाँ दिल्लीको भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डलाई भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले भेट्दा ‘साउथ ब्लक’को प्रतिनिधित्व गर्दै भारतीय विदेश सचिव बैठकमा सहभागी थिए। नेपालका प्रधानमन्त्रीसँग उनकी छोरी तथा स्वकीय सचिव गङ्गा दाहाल उक्त भेटवार्तामा सहभागी थिइन्।

तर नयाँ दिल्लीमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा सहभागी नभएकी गंगा दाहाल चीनका राष्ट्रपति सी र प्रधानमन्त्री लीसँग भएका अलग अलग बैठकहरूमा प्रधानमन्त्री प्रचण्डको छेउमा बसेको तस्बिरहरूमा देख्न सकिन्छ। कतिपय कूटनीतिक मामिलाका विज्ञहरूले यसलाई अचम्म मानेर हेरिरहेको बताएका छन् र यसको कारणबारे जनतालाई परराष्ट्र मन्त्रालयले प्रस्ट पार्नुपर्ने उनीहरू बताउँछन्।

परराष्ट्र मन्त्रालयका पूर्व शिष्टाचार महापाल गोपाल थापा भन्छन्, “साधरणतया राष्ट्र प्रमुख र सरकार प्रमुखको स्तरमा हुने भ्रमणहरूमा श्रीमती जाने हो। उहाँले छोरी लैजानुभयो। विगतमा गिरिजाप्रसाद कोइरालाले पनि छोरी लैजानु भएको थियो। तर औपचारिक वार्ताहरूमा छोरीलाई राखेको मलाई याद छैन।” उनले त्यस्ता “औपचारिक वार्तामा छोरी वा श्रीमतीलाई राख्नु प्रचलित अभ्यास नरहेको” पनि उल्लेख गरे।

परराष्ट्र मन्त्रालयका पूर्व सहसचिव थापा थप्छन्, “त्यसो गर्नुको कुनै अर्थ पनि हुँदैन किनभने दुईपक्षीय मामिलाबारे जानकारी नै नरहेको मान्छेलाई त्यहाँ राख्दा उसको के उपयोगिता हुन्छ? त्यो हाम्रो गल्ती हो। हामीले राख्छु भनेपछि चिनियाँहरूले दिए होलान्। तर उहाँलाई किन राखियो भन्ने कुरा चाहिँ परराष्ट्र मन्त्रालयले भन्न सक्नुपर्छ।”

थापाले अमेरिका र भारत लगायत कतिपय देशका शिष्टाचार सम्बन्धी प्रबन्धका उदाहरण दिँदै आवश्यक अधिकारीबाहेक अरूलाई ती देशले औपचारिक बैठकहरूमा नराख्ने गरेको सुनाए। उनी भन्छन्, “साधारणता अमेरिकीहरूले दिँदैनन्। राख्नुपर्‍यो भनेर तपाईँले विशेष अनुरोध नै गर्नुभयो भने पनि उनीहरूले उपयुक्त कारण बिना दिँदैनन्। उनीहरूले पहिला नै नाम माग्छन्। फर्स्ट लेडी (प्रथम महिला) वा त्यस्ता सदस्यलाई उनीहरूले औपचारिक भोजहरूमा लैजाने हो। प्रतिनिधिमण्डलको भेटवार्ता भइरहेका बेला त उनीहरूलाई घुम्न लैजाने वा अरू सामाजिक खालका कार्यक्रमहरूमा सरिक गराइन्छ।” उनले औपचारिक वार्ताहरूमा त्यसरी राखिएको ‘आफूले नदेखेको’ उल्लेख गर्दै त्यो उपयुक्त किसिमको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनको अभ्यास नभएको बताए।

नियमले बन्देज लगाएको छैन

तर परराष्ट्र मन्त्रालयका अर्का अवकाशप्राप्त शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठ श्रीमती वा परिवारका सदस्य लैजाने अन्तर्राष्ट्रिय अभ्यास रहेको र त्यस क्रममा कस्ता गतिविधिमा सहभागी गराउने भन्ने विषय सम्बन्धित सरकार प्रमुख वा राष्ट्रप्रमुखले सोच्ने विषय भएको बताउँछन्। उनले भने, “सरकार वा राष्ट्रप्रमुखले भएसम्म श्रीमती लैजाने प्रचलन हो। नभएपछि छोरीहरू पनि लैजाने अभ्यास छ। हाम्रै देशबाट पनि लगिरहेको छ। लैजानेले नै भन्नुपर्‍यो नत्र भने रोक्ने कुरा केही पनि छैन।” “भोजहरूमा सहभागी हुने, बैठकहरूमा लिएर गएको अवस्थामा चुप लागेर बसिदिने त्यति हो। अरू केही भूमिका हुँदैन। श्रेष्ठ त्यस्ता भ्रमण दलमा सहभागी श्रीमती वा छोरीहरूको भूमिका अवलोकनकर्तामा सीमित रहने बताउँछन्। के राष्ट्र प्रमुख वा सरकार प्रमुखका श्रीमती वा छोरीलाई अन्य देशसँगको औपचारिक बैठकहरूमा सहभागी गराउन मिल्छ? बीबीसीको प्रश्नमा उनले भने, “त्यो लैजानेले विचार गर्ने विषय हो। हामीले आवश्यकता हुन्छ हुँदैन भन्न मिल्दैन। श्रीमतीहरू कतिपय अवस्थामा लगेको पनि देखिन्छ। छोरी, छोरा वा नातिको हकमा नलैजाऊ भनेर लेखेको पनि छैन। नियमले नै बन्देज लगाएको छैन।”

श्रेष्ठले प्रतिनिधिमण्डल स्तरीय बैठकमा दुई देशबीच छलफल भइरहेका विषयका जानकार उच्च पदस्थ अधिकारीहरू बस्ने उल्लेख गरे। उनले थपे, “त्यो भनेको मन्त्री पनि हुनसक्छ, सचिव पनि हुनसक्छ वा सहसचिव पनि हुनसक्छ किनभने विषयवस्तु त उहाँहरूलाई थाहा हुनसक्छ। उहाँहरूले प्रतिनिधिमण्डलको नेतालाई जानकारीहरू दिएर सहयोग गर्ने हो।” उनले उच्चपदस्थ व्यक्तिलाई विदेश भ्रमणमा जाँदा विभिन्न कुरामा सहयोगको आवश्यकता पर्न सक्ने भन्दै त्यसका लागि भ्रमण दलमा एक जना परिवारको सदस्य हुनु ‘राम्रै हुने’ पनि टिप्पणी गरे। यसलाई ‘ठूलो विवादको विषय’ बनाउन नहुने उनको भनाई छ। भ्रमण दलमा सहभागी राष्ट्रप्रमुख वा सरकार प्रमुखका परिवारका सदस्यले ‘अप्ठेरो कुरामा हस्तक्षेप नगर्ने’ उल्लेख गर्दै उनले भने, “यो गर वा उ गर भन्दैनन् मेरो विचारमा हेरेर वा सुनेर बस्ने मात्रै हुन्छ।”

पार्टीको प्रतिक्रिया के छ?

प्रधानमन्त्री प्रचण्डको दल नेकपा माओवादी केन्द्रका कतिपय नेताहरूले प्रधानमन्त्रीले आफ्नी छोरीलाई उच्चस्तरीय कूटनीतिक भेटवार्तामा सहभागी गराएको विषयलाई नजिकबाट नियालिरहेको बताएका छन्। लामो समय यता पार्टीको विदेश विभागमा रहेका माओवादी केन्द्रका सचिव राम कार्कीलाई प्रतिनिधिमण्डल स्तरीय बैठकमा प्रधानमन्त्रीले आफ्नी छोरी राखेको विषयमा उनको धारणा के छ भनेर बीबीसीले सोधेको थियो। उनले भने, “हामी यो कुरा पार्टी भित्र उठाउँछौँ। यसको अध्ययन पनि गर्नुपर्‍यो। कुन हैसियतमा कसरी राखेको हो। स्वकीय सचिव पनि बनाएकाले केही हैसियत त छ। तर यो विषयमा हामी पार्टीमा भन्न सक्छौँ।” उनले नेपालका सबै पार्टीहरू ‘असाध्यै अशक्त’ भएको टिप्पणी गर्दै थपे, “सर्पले आफ्नो काँचुली फेर्छ तर हाम्रा पार्टीहरूले त्यसो गर्न सकेनन्। त्यसैका कारण जनताबाट विभिन्न टिप्पणीहरू सुन्ने गरिन्छ।”

यसअघि प्रचण्डले भारत भ्रमण गर्दा पनि छोरीलाई भ्रमण दलमा राखेको बारे प्रश्न उठेपछि परराष्ट्रमन्त्री एनपी साउदले विगतमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पूर्व राष्ट्रपति रामवरण यादवको समयमा श्रीमतीको सट्टा छोरीलाई भ्रमण दलमा राखिएको भन्दै प्रष्टीकरण दिएका थिए। उनले त्यसबेला भनेका थिए, “भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार र प्रधानमन्त्रीबीच एक्ला एक्लै भेट्ने कार्यक्रम थियो। उहाँकी छोरी स्वकीय सचिव पनि भएकोले सहजीकरण गर्नुभएको होला।”

को हुन् गंगा दाहाल?

झन्डै साढे तीन दशकदेखि पार्टी हाँकिरहेका र नेपालमा दश वर्षसम्म चलेको सशस्त्र विद्रोहको नेतृत्व गरेका माओवादी अध्यक्ष प्रचण्डकी कान्छी छोरी हुन्- गङ्गा दाहाल। उनकी जेठी दिदी ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो भने माहिली दिदी रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छिन्। पछिल्ला केही वर्षदेखि प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयमा रहँदै आएकी उनी हाल माओवादी केन्द्रकी वैकल्पिक केन्द्रीय सदस्य छिन्। सन् २०१७ मा निधन भएका प्रचण्डका छोरा प्रकाश दाहाल भन्दा करिब डेढ वर्ष जेठी रहेकी बताइने गङ्गाले द्वन्द्वकालको अधिकांश समय आफ्ना बुवा आमासँगै भारतमा बिताएकी थिइन्।

झन्डै साढे तीन दशकदेखि पार्टी हाँकिरहेका र नेपालमा दश वर्षसम्म चलेको सशस्त्र विद्रोहको नेतृत्व गरेका माओवादी अध्यक्ष प्रचण्डकी कान्छी छोरी हुन्- गङ्गा दाहाल। उनकी जेठी दिदी ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो भने माहिली दिदी रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छिन्। पछिल्ला केही वर्षदेखि प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयमा रहँदै आएकी उनी हाल माओवादी केन्द्रकी वैकल्पिक केन्द्रीय सदस्य छिन्। सन् २०१७ मा निधन भएका प्रचण्डका छोरा प्रकाश दाहाल भन्दा करिब डेढ वर्ष जेठी रहेकी बताइने गङ्गाले द्वन्द्वकालको अधिकांश समय आफ्ना बुवा आमासँगै भारतमा बिताएकी थिइन्।

लखनऊको लिला होटलमा सन् १९९७ मा प्रचण्डका दुवै छोरी रेणु र गङ्गगाको विवाह सम्पन्न भएको थियो। आफ्ना भाईको निधनपछि गङ्गा प्रचण्डको सचिवालयमा सक्रिय रहँदै आएकी छन्। उनको पुनर्विवाह भएका श्रीमान् जीवन आचार्य केही समयअघि कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए। नाम उल्लेख गर्न नचाहेका एक जना माओवादी नेता भन्छन्, “उहाँ अध्यक्षको सचिवालय व्यवस्थापन र कार्यालय हेरविचारका लागि उपयुक्त पात्र हो। तर कूटनीतिक र राजनीतिक मामिलामा उहाँको दक्खल छैन। उहाँलाई सक्रिय भूमिका दिइएकोमा आम पार्टी पङ्क्तिलाई राम्रो लागेको छैन।”

के छोरीलाई भविष्यमा अघि बढाउने उद्देश्य हो ?

यसपटक राष्ट्रसङ्घको महासभा र चीन भ्रमणमा प्रधानमन्त्रीले उच्च महत्त्व दिएर आफ्नी छोरीलाई सहभागी गराउँदा कतिपय कूटनीतिक मामिलाका विज्ञहरूले प्रधानमन्त्रीको ‘मनसायमाथि पनि प्रश्न’ गरिरहेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले महासभाको समयमा न्यूयोर्क पुगेका सरकार प्रमुखहरूलाई दिने रात्रि भोजमा पनि प्रधानमन्त्रीसँगै उनकी छोरी सहभागी भएकी थिइन्। न्यूयोर्कमा राष्ट्रसङ्घीय महासभामा प्रधानमन्त्रीसँगै पहिलो लहरमा कतिपय तस्बिरमा देखिएकी दाहाल चीन भ्रमणमा राष्ट्रपति सी र प्रधानमन्त्री लीसँग भएका प्रतिनिधिमण्डल स्तरीय भेटवार्तामा प्रधानमन्त्री प्रचण्डभन्दा बायाँको कुर्सीमा बसेकी थिइन्। परराष्ट्र मन्त्रालयका पूर्व शिष्टाचार महापाल थापा भन्छन्, “श्रीमती भएको भए छोरी नलैजाने अवस्था हुन्थ्यो होला। प्रतिनिधिमण्डलको सदस्य बनाएर उहाँलाई लिएर गएर त्यसरी बैठकमा राखेको हो भने उनलाई बस्ने अधिकार हुन्छ। तर त्यो आफूसँग भएको अधिकारको दुरुपयोग हो।”

उनले प्रधानमन्त्रीले त्यसरी बैठकमा सहभागी गराउन निर्देशन दिएको स्थितिमा परराष्ट्र मन्त्रालयले अडान समेत लिनसक्नुपर्ने टिप्पणी गरे। उनको भनाइ छ, “उहाँलाई प्रतिनिधिमण्डल स्तरीय कुराकानीमा राख्दा के योगदान दिनसक्नुहुन्छ त्यो त मन्त्रालयले सोध्नुपर्थ्यो नि। ग्रुमिङ (भविष्यमा अघि बढाउने) गर्ने उद्देश्यले लिएर गएको हुनसक्छ।” प्रधानमन्त्रीको रूपमा यो प्रचण्डको तेस्रो कार्यकाल हो। (फणीन्द्र दाहाल, बीबीसी न्यूज नेपाली)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर