काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा आजदेखि सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा आठ दिनसम्म मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा मंगलबारदेखि सुरु भएको छ । हरेक वर्षको भाद्रशुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको सुरुवात गर्ने गरिन्छ ।

काठमाडौंमा ठूलो लिङ्गोसँगै आसपासका जिल्लामा समेत मनाइने यो पर्वका दिन भक्तपुरको दोबाटोमा छोटो लिङ्गो (नेवारी भाषामा यम द्यः) ठड्याउने चलन छ । इन्द्रजात्रा पर्वको मुख्य विधि भनेको नै वसन्तपुर दरबार क्षेत्रको कालभैरव अगाडि यः सिं अर्थात् लिङ्गो ठड्याउनु हो । यो लिङ्गो तान्त्रिक विधिबाट ठड्याउने गरिन्छ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा एवम् सम्झनामा मनाइने यो पर्वमा थानकोटमा रहेको इन्द्रदहमा गएर रातभर जाग्राम बसेर इन्द्रको पूजा समेत गर्ने गरिएको छ । विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा आठ दिनसम्म मनाइन्छ । इन्द्रजात्राको तेस्रो दिन आउँदो बिहीबार कुमारी रथयात्रा हुन्छ । यो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

राष्ट्रपतिले बिहीबार वसन्तपुरको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ । कुमारीको रथलाई काठमाडौंको तल्लो क्षेत्र लगन, मरुलगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइनेछ । कुमारीको रथसँगै लाखे, पुलुकिसीलगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिन्छ ।

यो दिन विदेशी पाहुना पनि सहभागी हुनेछन् । जात्राभरी सवाभक्कु हल्चोक भैरव नाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजसहितको लिंगो ठड्याएको आठौँ दिनपछि आश्विन कृष्ण चौथीका दिन उक्त लिंगो ढालेपछि इन्द्रजात्रा समापन गरिन्छ। सो दिन नानीचा याःको अवसरमा राष्ट्रपतिले श्री गणेश, श्री भैरव र श्री कुमारीको दर्शन गर्ने प्रचलन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर