मलंगवामा स्थिति सुधार, रातिमात्रै निषेधाज्ञा

काठमाडौं । सर्लाहीको सदरमुकाम मलङ्गवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ रातिलाई भने यथावत् राखिएको छ ।

सर्लाही जिल्ला प्रशासन कार्यालयमा आज सोमबार बिहान बसेको समन्वय सहजीकरण बैठकले असोज ४ गते बिहीबार राति १० बजेदेखि लगाएको निषेधाज्ञा दिउँसोको समयमा हटाउने तर राति ८ बजेदेखि बिहान ४ बजेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो ।

गणेश चतुर्थीको मूर्ति विर्सजन गर्न जाने क्रममा मलङ्गवामा दुई समुदायबीच झडप भएपछि गएको बिहीबार राति १० बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि मलङ्गवामा निषेधाज्ञा जारी गरिएको थियो । अशान्त बनेको मलङ्गवामा गए रातिदेखि अवस्था सामान्य हुँदै गएपछि सोमबारदेखि दिनको निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

दिनमा निषेधाज्ञा आदेश निष्क्रिय गरिए पनि सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै साविक मलङ्गवा नगर क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, बैठक, प्रदर्शन, पोस्टर पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको प्रजिअ यादवले बताए । आज निषेधाज्ञा हटाइए पनि मलङ्गवाको बजार खुलेको छैन भने यातायात, शिक्षण संस्था, सरकारी कार्यालय पनि पूर्णरूपमा बन्द छन् । यता व्यापारीका सङ्घ–सङ्गठनले पनि बजार खोल्न आह्वान गरेका छन् । निषेधाज्ञा हुँदा पनि घटना हुन थालेपछि आइतबार दिउँसोदेखि स्थानीय प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको थियो । निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले अहिले पनि हिरासतमा राखेको छ ।

गणेशको मूर्ति विर्सजन गर्न जाने क्रममा गएको बिहीबार घरको छतबाट अर्को पक्षले ढुङ्गा प्रहार गरेको थियो । ढुङ्गा लागेर सुरक्षाकर्मीसहित केही मानिस घाइते भएका थिए भने छुरा प्रहारबाट घाइते भएका मलङ्गवा नगरपालिका–७ मुसैलीका रुपेशकुमार यादवको अहिले वीरगञ्जमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर