प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानमा

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । आज भएको खेलमा वेस्टह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो । लिभरपुलको ६ खेलबाट १६ अंक पुगेको छ ।

घरेलु मैदानमा लिभरपुलले १६ औं मिनेटमा वेस्टह्याम युनाइटेडविरुद्ध अग्रता लिएको थियो । मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा जारोड बोवेनले गोल गरेपछि वेस्टह्यामले पहिलो हाफ बराबरीमा ल्यायो । ६० औं मिनेटमा लिभरपुलका लागि डार्विन नुनेजले गोल गरेपछि अग्रता २–१ भएको थियो । यसैगरी डिएगो जोटाले ८५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–१ को जित पक्का गराए ।

वेस्टह्याम जारी लिगमा सातौं स्थानमा छ । आजै भएको अन्य खेलमा एस्टन भिल्लाले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको छ । चेल्सी ५८ औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । उसका मालो गुस्टो रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए । ७३ औं मिनेटमा एस्टनका लागि ओले वाटिकन्सले गोल गर्दै जित पक्का गराए । जितपछि एस्टन १२ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । त्यसैगरी पराजित भएको चेल्सी ५ अंकका साथ चौधौं स्थनमा छ ।

यस्तै, आजै भएको अर्को खेलमा ब्राइटन जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको छ । ब्राइटनले एएफसी बर्नमाउथलाई ३–१ गोल अन्तरले पराजित गर्दै तालिकाको तेस्रो स्थानमा आफूलाई उकालेको हो । ब्राइटनको  ६ खेलबाट १५ अंक भएको छ । बर्नमाउथ भने १७ औं स्थानमा छ । यसैगरी आर्सनल र टोटनह्यामले भने २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका  छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर