१९औँ एसियन गेमका आफ्ना खेलाडीलाई चीनले प्रवेश नदिएपछि भारतको कडा आपत्ति

काठमाडौं । भारतले १९औँ एसियन गेममा सहभागी हुन गएका आफ्ना खेलाडीलाई चीनले प्रवेश नदिएपछि कडा आपत्ति जनाएको छ ।

चीनले भारतको अरुणाचल प्रदेशका खेलाडीलाई एसियन गेममा सहभागी हुनबाट रोकेपछि भारतले आपत्ति जनाएको हो । चीनले अरुणाचल प्रदेशलाई आफ्नो भू–भाग मान्दै आएको छ र उक्त भू–भाग भारतले अतिक्रमण गरेको आरोप लगाउँदै आएको छ ।

केही साताअघि मात्र चीनले अरुणाचल प्रदेशलाई समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको थियो । “चीनको हाङ्जाओमा हुने १९ औँ एसियाली खेलकुदमा चीनका अधिकारीहरूले अरुणाचल प्रदेशका केही भारतीय खेलाडीहरूलाई मान्यता र प्रवेश नदिएर भेदभाव गरेको थाहा हुन आएको छ,” भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा बगाचीले भनेका छन्, “हाम्रो लामो समयदेखिको अडानअनुसार भारतीयमाथि क्षेत्र र जातीयताको आधारमा गरिने विभेदकारी व्यवहारलाई भारत अस्वीकार गर्दछ । अरुणाचल प्रदेश भारतको अभिन्न र अविभाज्य अंग थियो, छ र सदैव रहनेछ ।” भारतीय केही खेलाडीहरूलाई चीनले जानाजानी अवरोधका विरुद्ध नयाँदिल्ली र बेइजिङमा कडा विरोध गरिएको बगाचीले बताएका छन् ।

चीनको यस कार्यले एसियाली खेलकुदको भावना र आचरणसम्बन्धी नियमहरूको उल्लंघन भएको जनाइएको छ । चीनले आफ्ना खेलाडीलाई लगाएको रोकको विरोध स्वरुप भारतका सूचना तथा प्रसारण तथा युवा मामिला तथा खेलकुदमन्त्रीले एसियन खेलकुदमा सहभागी हुन जाने आफ्नो भ्रमण रद्द गरेको उनले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर