साफ यु–१९ च्याम्पियनसिप नेपालले जित्ने दावी

काठमाडौं । नेपालले बिहीबारदेखि सुरु हुने साफ यु–१९ च्याम्पियनसिपको पाँचौँ संस्करणमा घरेलु मैदानको फाइदा लिँदै उपाधि जित्ने लक्ष्य राखेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रतियोगिता अगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली युवा टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले तयारी राम्रो भएको र घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गरिने दाबी गरे । सबै खेलाडीले मेहतत गरेको र घरेलु मैदानमा हुने च्याम्पियन अवसरको रूपमा समेत लिएको प्रशिक्षक श्रेष्ठको भनाइ छ ।

पत्रकार सम्मेलनमा ६ मध्ये पाँच टोलीका कप्तान तथा प्रशिक्षक उपस्थित थिए । पाकिस्तान भने नेपाल आइनपुगेका कारण कार्यक्रममा उपस्थित भएन । भारत यो प्रतियोगिताका लागि सन् २०२१ देखि नै तयारी गर्दै आइरहेको छ । खेलाडीहरूलाई ट्रायलमार्फत छनोट गर्दै उनीहरूलाई साफका लागि दुई वर्षदेखि प्रशिक्षण गरिरहेको जनाएको छ ।

साथै साफ नजिकिएपछि साउदी अरेबिया गएर बन्द प्रशिक्षण गरेको थियो । काठमाडौं आउनुअघि साउदीमा दुई अभ्यास खेल खेलेको र दुवैमा जित प्राप्त भएको भारतीय टोलीले जनाएको छ ।

भारतीय यु–१९ टोलीका प्रशिक्षक शुभेन्दु पान्डा पर्याप्त प्रशिक्षण गर्न पाएकाले सुखद् नतिजा आउनेमा आशावादी रहेको बताए । दुई वर्षदेखि नै टोली निर्माणका लागि समय बिताएको र देशभरबाट छनोट गरिएकाले यो टोलीले राम्रो नतिजा दिने भारतीय प्रशिक्षक शुभेन्दुको विश्वास छ ।

यु–१९ च्याम्पियनसिपको पाँचौँ संस्करणसम्म आइपुग्दा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् । नेपालबाटै सुरु भएको यो उमेर समूहको च्याम्पियनसिमा नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो ।

यस च्याम्पियनसिपमा बंगलादेशलाई पनि दाबेदार टोलीका रूपमा हेरिएको छ । बंगलादेशका प्रशिक्षक रसिद अहमदले तयारीका लागि कम समय पाएपनि यसपटक फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन् ।

यस च्याम्पियनसिपमा सहभागी ६ टोलीमध्ये पाँच राष्ट्रका कप्तानहरूले प्रतियोगिताका लागि उत्साहित रहेको र अहिले पहिलो खेलमा केन्द्रित रहने बताए । नेपालले बिहीबार साँझ साढे ५ बजे दशरथ रङ्गशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसअघि उद्घाटन खेलमा दिउँसो भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल यस च्याम्पियनसिपमा समूह ‘ए’ मा छ । यो समूहमा पाकिस्तान र माल्दिभ्स छन् । अर्को समूह ‘बी’ मा विजेता भारत, साबिक उपविजेता बङ्गलादेश र भुटान छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालको पहिलो लक्ष्य समूहमा शीर्ष स्थान ओगट्दै सेमिफाइनलमा बलियो दाबेदारी प्रस्तुत गर्ने हुनेछ । समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा भारत, भुटान र बङ्गलादेश छन् । नेपालको कप्तानी गोलकिपर जियारथ शेखले गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर