रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत गतिको बससेवाको शुभारम्भ

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा भक्तपुरको सूर्यविनायकचोकदेखि रत्नपार्कसम्म द्रुत गतिको बस सेवा प्रारम्भ गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले द्रुत बसको शुभारम्भ रत्नपार्कबाट गरेको हो ।

द्रुत बसका लागि रत्नपार्कदेखि सूर्यविनायकसम्म सडकमा डेडिकेटेड लेन छुट्याइएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले भने, “सडकमा रातो रङले डेडिकेटेड लेन छुट्याइएको छ । द्रुत बस सञ्चालन हुने समयमा अत्यावश्यकबाहेकका सवारीसाधन उक्त लेनमा प्रवेश गर्न पाउने छैनन् ।”

हाललाई बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म द्रुत बस सञ्चालन गर्न लागिएको हो । शुभारम्भको दिन दुई वटा बस सञ्चालन हुने र असोज ४ देखि बस थप गरी नियमित सञ्चालन हुने जानकारी पनेरुले बताए। ट्राफिक व्यवस्थापनका साथै यात्रुको सुविधाका लागि द्रुत बस सञ्चालन गर्न लागिएको हो । रत्नपार्क–सूर्यविनायक सडकमा नमुनाका रूपमा सञ्चालन गरिए पनि बिस्तारै द्रुत बस सेवा विस्तार गरिने विभागले जनाएको छ ।

द्रुत बस सेवा सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा विभागले २५ वटा ठुला बसको व्यवस्थापन गरेको छ । द्रुत बस गुड्ने डेडिकेटेड लेनमा तोकिएको समयमा अन्य सवारीसाधन चलाउन पाइने छैन । एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बस भने उक्त लेनमा चलाउन पाइने छ । विभागका अनुसार ट्राफिकको रातो बत्तीमा पनि द्रुत बस रोकिँदैनन् । एम्बुलेन्स तथा अत्यावश्यक सवारीसाधन जस्तै गुड्ने छन् । सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने प्रवक्ता पनेरुले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर