संविधान संशोधन नगर्ने पक्षमा ओलीको दृढ वकालत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नु नहुने बताएका छन् ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज मंगलबार आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा उनले नेपाली जनताभन्दा पनि वाह्यशक्तिको चलखेल देखिएकाले तत्काल संविधान संशोधन गरिहाल्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।
“गम्भीरताभन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित कुरा कुराबाट दबाब दिने प्रवृत्ति र अनेक खालका बेठीक उद्देश्य देखिएकाले तत्काल समुचित ढङ्गले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न फेरि गम्भीर रहेको छ । त्यसकारण यसका कुनै हतारो नै गरिहाल्नुपर्ने अवस्था आएको छैन”, उनले भने ।
ओलीले भने, “संविधान कार्यान्वयनका क्रममा देखापरेका, नमिल्दा खालका, व्यवहारमा परिवर्तन आवश्यक देखिएका त्यस्ता विषय परिवर्तन गर्दै लैजानुपर्दछ ।” संविधानको विरोध गर्ने र संविधानको समर्थन गरेपछि संशोधन हुन सक्दैन भन्ने दुवै कुरा ठीक नभएको उनले बताए ।
आधारभूत गुणमा कतै खोट नभएको व्यक्ति सुवास नेम्वाङ रहेको भन्दै उनले अवसर र जिम्मेवारी पाउँदा सफलतापूर्वक काम गरेको उल्लेख गरे । नेम्वाङले पुनःस्थापित प्रतिनिधिसभाको सभामुखको भूमिका असाधारण खेलेको भन्दै सोही संसद्ले थुप्रै युगान्तकारी निर्णय गरेको बताए । अध्यक्ष ओलीले संविधानमा निर्माणमा नेम्वाङको पदचिह्न, योगदान, दिशानिर्देशबारे पार्टीमा छलफल गर्ने बताए ।
“आज सबै पार्टी र पक्ष मिलेर देशको समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धेरै प्रकारका खतराबाट हामी जेलिने छौँ”, उनले भने, “त्यसमा पनि प्रमुख राजनीतिक दलको कर्तव्य हो । साँच्चै देशप्रति प्रमुख राजनीतिक दल जिम्मेवार हुनुपर्दछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर