गणेशमान सिंह लोकतन्त्रको शतिशाल : राष्ट्रपति पौडेल

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले गणेशमान सिंह नेपाली राजनीतिको लौह पुरुष भएको बताएका छन् । सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेस्थित स्वर्गीय गणेशमान सिंहको प्रतिमाको मङ्गलबार अनावरण गर्दै उनले सिंहलाई प्रजातान्त्रिक आन्दोलनको लौह पुरुषको रूपमा स्मरण गरे । पौडेलले नेपाली भूमिलाई बलियो, सुदृढ र व्यवस्थित बनाउन गणेशमान जीवन पर्यन्त अविश्राम खटिएको योद्धाको रूपमा सिंहलाई स्मरण गरे ।

पौडेलले भने, “सिंहले त्याग, बलिदान र कष्टकर दिनहरूमा आफूलाई उभ्याएर प्रजातान्त्रिक मूल्य, मान्यतामा रहने योद्धा थिए ।”
सिंहले जेलनेल, निर्वासन राजनीतिका कठिन समयमा पनि आफूलाई लोकतन्त्रको पक्षमा शतिशाल झैँ उभ्याएर आफ्नो विचार र अडानमा अडिग रहने नेता भएको पौडेलले स्पष्ट पारे । जनआन्दोलन सफल भएपछि उहाँलाई तत्कालीन राजाले प्रधानमन्त्री बन्न आमन्त्रण गरे पनि उहाँले प्रधानमन्त्री नबन्ने उद्घोषण गरेको राष्ट्रपति पौडेलले उल्लेख गरे । पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको पनि बताए ।

बाटिका निर्माणले गणेशमान सिंहको आदर्श जीवनको सन्देशलाई जीवन्त राख्न मद्दत पुग्ने विचार राष्ट्रपति पौडेलेले व्यक्त गरे । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतन्त्रको स्थापना र कानुनी शासनमा गणेशमान सिंहको योगदान उच्च रहेको चर्चा गरे । गणेशमान बाटिका निर्माणले यस क्षेत्रमा बहुआयामिक पर्यटकको आकर्षणको केन्द्र बन्ने बताउँदै अर्थमन्त्री महतले बाटिकालाई पूर्णता दिन तीनै तहको सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशनमान सिंहले नेपाली जनतालाई सार्वभौम बनाउने काममा गणेशमान सिंहको भूमिका अतुलनीय रहेको बताए । सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेमा सिंहको एक हजार २०० केजीको तौलको १२ फिट अग्लो ढलोटको प्रतिमा निर्माण गरिएको गणेशमान स्मृति बाटिका सभापति माथबरसिंह बस्नेतले जानकारी दिए ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा र सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाले गणेशमान सिंह योगदानको स्मरण गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर