सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवाका लागि मार्किङ

काठमाडौं । भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन गर्न छुट्टै लेनमा रोड मार्किङको भइरहेको छ । सरकारले संविधान दिवसको अवसर पारेर असोज ३ गते बुधबारदेखि सो बस सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार तत्कालका लागि द्रुत बस सेवा अत्यधिक जामको समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालन हुनेछन् ।

द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन, बसको रङ नै फरक हुनेछ । द्रुत बस सेवाको सडक लेन बनाइएको छ । यातायात मन्त्री प्रकाश ज्वालाले सडक विभागलाई बसको आकार प्रकार, सफाइ तथा रोड पर्मिटको व्यवस्था मिलाउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार विभागले द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन बनाएको हो ।
अत्यधिक जामको बेला सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा १ घण्टा ३० मिनेट लाग्ने गरेको छ भने द्रुत बस सेवा सञ्चालन भएपछि जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिनेछ । द्रुत बस सेवाका लागि मोबाइल एप पनि बनाइएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर