भारतले पनि क्यानाडेली कूटनीतिज्ञ निष्काशित

काठमाडौं । भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्काशन गरेको छ । क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्काशन गरेको हो ।

भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानडाका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्काशन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ । नयाँदिल्लीले निष्काशन गरेका क्यानडेली कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ ।

यो निर्णयले भारतको आन्तरिक मामिलामा क्यानडेली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारतविरोधी गतिविधिहरूमा उनीहरूको संलग्नता देखिएको विदेश मन्त्रालयका एक जना अधिकारीले बताएका छन् । विधिको शासनप्रति दृढ प्रतिबद्धतासहितको लोकतान्त्रिक राजनीतिक पद्धति अपनाएको भारतमाथि क्यानडाले लगाएको आरोपलाई विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आधारहीन भएको टिप्पणी गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को आकस्मिक बैठकमा हरदीपसिंह निज्जरको हत्यामा नयाँदिल्ली संलग्न रहेको आरोप लगाएका थिए । गत जुनमा निज्जर ब्रिटिस कोलम्बियामा मृत अवस्थामा भेटिएका थिए । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा भारतविरोधी गतिविधि बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै क्यानडाको भूमिलाई भारतविरुद्ध उपयोग हुन नदिन आफ्ना समकक्षीलाई अनुरोध गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर