माथिल्लो तामाकोसीमा १८ घण्टा उत्पादन बन्द

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले १८ घण्टा उत्पादन बन्द गर्ने भएको छ । एक दिनका लागि तामाकोसी नदीको पानीमा कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाले सोमबार बिहान ४ बजेदेखि राति ८ बजेसम्म जलविद्युत् केन्द्रको जलाशय सफा गर्ने लागेकाले यस समयमा विद्युत् उत्पादन बन्द हुने आयोजनाले जनाएको छ । सो समयमा पानीको बहाव घटबढ हुने चक्र भइरहने हुँदा यो समयमा तामाकोसी नदीको पानीमा कुनै पनि क्रियाकलाप नगर्न सार्वजनिक सूचनामार्फत आग्रह गरिएको छ ।

विद्युत् केन्द्रका प्रबन्धक पूर्ण गोपाल रञ्जितका अनुसार २०८० असोज १ गते सोमवार बिहान ४ बजेदेखि राति ८ बजेसम्म माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको जलाशय सफा गर्ने अवधिभर तामाकोसी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोँगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँपुल, किर्ने, खिप्तीसहित सुनकोसी नदिको दोभानसम्म नै तामाकोसी नदीको पानीको सतह बढ्ने–घट्ने चक्र भइरहन्छ ।

सो अवधिभर तामाकोसी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न(नगराउनु हुन तथा नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न अनुरोध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर