भारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । एसिया कप क्रिकेटको फाइनलमा श्रीलंकाले भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। आर प्रेमदासा स्टेडियममा हुने खेलमा श्रीलंकाले पहिला ब्याटिङ गर्ने भएको हो।

दुबै टिमले समान एक–एक परिवर्तन गरेका छन्। श्रीलंकाका कप्तान दसुन शनाकाले चोट बोकेका महीश तीक्षणाको स्थानमा दुशन हेमन्थालाई टिममा ल्याउँदा भारतीय कप्तान रोहित शर्माले चोटका कारण बाहिर भएका अक्षर पटेलको स्थानमा वाशिङ्गटन सुन्दरलाई टिममा मौका दिएका छन्।

यहाँ भारतले आफ्नो ५ वर्षको उपाधि खडेरी अन्त्य गर्ने मौका पाउनेछ भने डिफेन्डिङ च्याम्पियन श्रीलंकाले उपाधि रक्षा गर्न चाहन्छ। दुवै टोली आठौं पटक एसिया कपको एकदिवसीय ढाँचाको फाइनलमा भिड्दैछन्। यसअघि खेलिएका ७ फाइनलमध्ये भारतले ४ फाइनल जितेको थियो भने ३ वटामा श्रीलंकाले सफलता हात पारेको थियो।

हेड टु हेडः

भारत र श्रीलंकाबीच समग्रमा १६६ ओडीआई खेल भएका छन्। भारतले ९७ खेल जितेको छ भने श्रीलंकाले ५७ खेल जितेको छ। ११ खेलको नतिजा आएको छैन भने एक खेल बराबरी भएको छ।

शुभमन गिल प्रतियोगितामा भारतका सर्वाधिक रन स्कोरर

भारतीय टिमका अलराउन्डर अक्षर पटेल घाइते भएका छन्। उनको स्थानमा वासिङ्टन सुन्दरलाई फाइनलका लागि कोलम्बो बोलाइएको छ। तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यसबारे अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन। ओपनर शुभमन गिल एसिया कप २०२३ मा भारतका लागि सर्वाधिक रन स्कोरर बनेका छन्। जबकि कुलदीप यादव सर्वाधिक विकेट लिने बलर हुन्। गिलले ५ खेलमा २७५ रन बनाएका छन्। यस्तै, यादवले ४ खेलमा ९ विकेट लिएका छन्।

श्रीलंकाका लागि समरविक्रमाको नाममा सबैभन्दा धेरै रन

श्रीलंकाका स्पिनर महिश तीक्षाणा चोटका कारण फाइनलबाट बाहिरिएका छन्। श्रीलंका क्रिकेट बोर्डले तीक्षाणाको चोटबारे अपडेट जारी गर्दै फाइनल खेल्न नसक्ने बताएको छ। एसिया कप २०२३ मा श्रीलंकाका लागि सर्वाधिक रन बनाउने खेलाडी सदिरा समरविक्रमाको नाममा छ । यस्तै, मथिश पथिरानाले सर्वाधिक विकेट लिएका छन्। समरविक्रमाले ५ खेलमा २१५ रन बनाएका छन् भने पथिरानाले ५ खेलमा ११ विकेट लिएका छन्।

आइतबार कोलम्बोमा पानी पर्ने सम्भावना ९० प्रतिशत छ। तापमान २४ देखि ३१ डिग्री सेल्सियस सम्म हुन सक्छ। यदि आज वर्षाका कारण खेल रद्द भएमा भोलिका लागि रजर्भ डे राखिएको छ। कोलम्बोको आर प्रेमदासा स्टेडियमको पिच सामान्यतया स्पिनरहरूलाई सहयोगी भएको छ, ब्याट्सम्यानहरूले पनि राम्रो समर्थन पाएका छन्। अर्कोतर्फ, फास्ट बलरहरूलाई यो मैदानमा कठिन छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर