व्रतालु महिलाहरूले धेरै मसलादार परिकार नखान सल्लाह

काठमाडौं ।  आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्व सुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । भोलि व्रत बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ । दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् ।

धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार, दरका रुपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले त्यस्ता खानेकुरा सकेसम्म नखान पोषणविद् समीक्षा कार्कीले सुझाव दिएका छन् । दर खाँदा आफ्नो शरीरमा चाहिने मात्र खान, दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य खान र दरसँग जाँडरक्सी नखान उनले आग्रह गरे । तीजमा खाइने दरमा खिर, तरकारी, मिठाइलगायत सधैँ खाइने परिकारभन्दा चिल्ला, पिरा, गुलिया र मसलेदार खानेकुरा धेरै समावेश गरिएको हुनाले त्यसले अपच तथा ग्यास्ट्रिकको समस्या हुन सक्ने उनले बताए ।

अझ मधुमेहका बिरामीले यस्ता खानेकुरा खाँदा झनै सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । पहिले मानिसहरुले धेरै परिश्रम गर्ने भएकाले चिल्लो, गुलियो धेरै खाँदा पनि त्यति स्वास्थ्य समस्या नहुने भए पनि अहिले मानिसहरुले शारीरिक परिश्रम कम गर्दा र त्यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा समस्या निम्तने गरेको उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर