नेपाल नागरिक उड्डयन प्राधिकरणको नवनिर्मित भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित प्रधान कार्यालयको नवनिर्मित भवन आज शुक्रबार उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले विभिन्न उतारचढावका बावजुद प्राधिकरण आजको अवस्थामा आइपुगेको स्मरण गर्दै आगामी दिनमा प्राधिकरण थप सुदृढ र व्यवस्थित हुँदै जानेमा विश्वास व्यक्त गरे । पोखरा र भैरहवामा रहेका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण कार्यक्षमतामा सञ्चालनका निम्ति सरकारले आफ्नो तर्फबाट आवश्यक पहल र अग्रसरता लिइरहेको उनले बताए ।

त्रिभुवन विमानस्थलको आधुनिकीकरण गर्ने गुरूयोजना अन्तिम चरणमा पुगेको समेत उनले जानकारी गराए । उक्त कार्यलाई तीव्रताका साथ अगाडि बढाउन उनले प्राधिकरणलाई निर्देशन पनि दिए । प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा विज्ञ समूहबाट प्राप्त सुझावका आधारमा निर्माण कार्य अगाडि बढाउन मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिइने बताए ।
‘‘आइसिएओ’’ले प्रतिपादन गरेको हवाइ सुरक्षासम्बन्धी विश्वव्यापी मापदण्डप्रति नेपाल प्रतिवद्ध रहेको विश्वास दिलाउँदै उनले यसका लागि नीतिगत, कानुनी, संस्थागत र संरचनागत सुधारमा ठोस पहल गर्ने बताए । उनले भविष्यमा थप स्पष्ट नीति, कार्ययोजना र कार्यक्रमका साथ अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर