चीनसँग सीमानाका खोल्नेबारे कुराकानी हुने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (भदौ ३०) देखि अमेरिका र चीनको भ्रमण थाल्दैछन् । भ्रमण क्रममा आफूले दिगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयनदेखि चीनसँगका नाका खोल्नेसम्म एजेण्डा लैजान लागेको दाहालले संसदलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्रीको विदेश भ्रमणबारे जानकारी गराउन संसदले भदौ २१ गते सरकारलाई निर्देशन दिएको थियो । सोही निर्देशानुसार प्रचण्डले विदेश भ्रमणबारे संसदलाई जानकारी दिएका हुन् ।

संयुक्त राष्ट्रसंघको निमन्त्रणमा ७८औं महासभा र उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफू अमेरिका जान लागेको प्रचण्डले बताएका छन् । यस्तै, चीनका प्रधानमन्त्री लि छियाङको मैत्रीपूर्ण निमन्त्रणामा आफू अमेरिकाबाटै चीन जान लागेको पनि दाहालले संसदलाई जानकारी दिएका छन् ।

‘महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भइ नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासनप्रणालीको अभ्यास र समुन्नत नेपाल निर्माण प्रयासलाई मुखरित गर्न पाउनुलाई मैले एउटा महत्वपूर्ण अवसरको रूपमा लिएको छु,’ प्रचण्डले भनेका छन्, ‘यसैवर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सृजित स्वास्थ्य चुनौती, दिगो विकास लक्ष्य हासिल गर्न वित्तीय प्रबन्धलगायत संयुक्त राष्ट्रसंघका सदस्य मुलुकहरूका साझा चासो एवम् सरोकारका विषयहरूमा गहन रूपमा छलफल हुने गरी साइडलाइनमा आयोजना हुने विभिन्न उच्चस्तरीय बैठकमा सहभागी हुन समेत मलाई निमन्त्रण प्राप्त भएको छ ।’

यस वर्षदेखि अल्पविकसित देशहरूको समूहको अध्यक्षको हैसियतले नेपालको ४७ देशको प्रतिनिधित्व गर्दै साझा चासोका विषयहरूमा विभिन्न मञ्चमा धारणा राख्नुपर्ने जिम्मेवारी आएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । महासभालाई नेपालको तर्फबाट असोज ४ मा सम्बोधन गर्नेगरी कार्यक्रम तय भएको छ । सम्बोधन क्रममा अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेका चुनौतीहरूबारे विश्व समूदायको ध्यानाकर्षण गर्ने तथा अल्पविकसित देशहरूको समूहको अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रले झेल्दै आएका विशिष्ट चुनौतीबारे आवाज उठाउने पनि प्रचण्डले बताएका छन् ।

जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परेको गहिरो र दूरगामी प्रभावलगायत नेपालका लागि चासोका विषय र प्राथमिकताबारे विश्वलाई जानकारी गराउने तयारी रहेको दाहालको भनाइ छ । संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेपछि प्रचण्ड असोज ५ गते छिमेकी देश चीनको औपचारिक भ्रमणका लागि ह्वाङ्जाओ जाने तयारी छ । छोटो समय रहेका कारण न्यूयोर्कबाट सीधै चीन जानुपर्ने परिस्थिति बनेको प्रचण्डको भनाइ छ ।

नेपाल र चीनबीच हालैका वर्षमा बहुआयामिक क्षेत्रमा सम्बन्ध विस्तार भएको, चीन लामो समयदेखि नेपालको विकास साझेदार रहेको र नेपालको सर्वांगीण विकासमा सहयोग गर्दै आएको प्रचण्डले संसद्मा उल्लेख गरे । नेपालको प्रधानमन्त्रीको हैसियतमा आफ्नो तेस्रो चीन भ्रमण रहेको र भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको प्रधानमन्त्रीले बताए । नेपाल र नेपाली जनताको हित एवम् दुई देशबीचको सम्बन्धलाई सुदृढ तुल्याउन सदुपयोग गर्ने उनको भनाइ छ ।

कोरोना महामारीपछि नेपालबाट हुन लागेको उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने, नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य र शिक्षा लगायत विविध क्षेत्रमा चीनबाट प्राप्त सहयोगबारे छलफल हुने प्रचण्डले बताएका छन् । कोभिडका कारण नियमित हुन नसकेको द्विपक्षीय व्यापार नाका र परम्परागत सीमानाका खोल्ने विषयमा पनि कुराकानी हुने दाहालले संसद्लाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डले ह्वाङ्जाओमै चीनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाट गर्नेछन् । १९औं एसियन गेम्सको उद्घाटनमा सहभागी भएर उनी २५ सेप्टेम्बरमा बेइजिङ पुग्नेछन् । त्यहाँ उनले चिनियाँ समकक्षीसँग भेटघाट गर्नेछन् । त्यसपछि तिब्बत भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीहरूसँग भेटघाट गरी नेपाल फर्कने प्रचण्डले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर