प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न गगन थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले अङ्गीकार गरिएको निर्वाचन प्रणाली फेर्न प्रस्ताव गरेका छन् । नयाँ संविधानमा जारी गरिएको मिश्रित निर्वाचनले समावेशिता पक्का गरे पनि स्थिरता नदिएको उनको भनाइ छ ।

नेपाली काङ्ग्रेस पोखरा महानगर कमिटीको बुधबार दोस्रो सम्मेलनको उद्घाटन गर्दै थापाले प्रदेश संरचना चाहिँदैन भन्नु गलत भएको बताए । त्यसलाई कामकाजी र जनतासँग जोडिन भने आवश्यक रहेको उनको सुझाव छ ।

“सबैको सहभागिता पक्का गरौँ, अहिलेभन्दा पनि बढी समावेशी बनाऔँ तर तल्लो सदनमा समानुपातिक निर्वाचनको व्यवस्था हटाऔँ” उनले भने, “यो निर्वाचन प्रणाली भएसम्म चुनावमै गठबन्धन चाहिन्छ, गठबन्धनले प्रजातन्त्रकै मान्यतामा सङ्कट ल्याउँछ ।”

चुनाव जित्नकै लागि कांग्रेसले अब गठबन्धन गर्न नहुने उनको भनाइ छ । हरेक वर्ष कांग्रेसका सबै तहले सम्मेलन गर्नुपर्ने विधानमा व्यवस्था छ । पछिल्लो वर्ष देशभर विभिन्न तहमा सम्मेलन भए पनि दोस्रो सम्मेलन भने पोखरा महानगरले पहिलो पटक गरेको नेता थापाले बताए । देशभर कांग्रेसमा आगामी चुनाव हारिने त्रास देखिएको जनाउँदै उनले जनताका अपेक्षा पूरा गर्न तर चुनावको चिन्ता नगर्न आग्रह गरे ।

“अहिले हामी सबैतिर सत्तामा छौँ, काम गरेर देखाउने ठाउँमा छौँ । चुनाव आउन चार वर्ष बाँकी छ । चुनाव हारिन्छ भन्ने रुवावासी किन भइरहेको छ?” नेता थापाले थपे, “देशमा सबैको अभिभावक बनौँ । हाम्रा एजेन्डालाई देशका एजेन्डा बनाऔँ । चुनाव सबै थोक होइन ।”

अहिलेको देशको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएको जनाउँदै उनले सबै सम्पत्ति छानबिन हुनुपर्ने र त्यसमा कोही पार्टी, नेता, कार्यकर्ता भनेर जोगाउन नहुनेमा जोड दिए । महामन्त्री थापाले कांग्रेसको आगामी महाधिवेशन २०८२ मङ्सिरभित्रै हुने प्रस्ट पार्दै चुनावको प्रणालीसँगै टिकट वितरण पद्धति पनि फेरिने घोषणा पनि गरे ।

उनले भने, “अब महानगरका उम्मेदवार महानगरकै प्रतिनिधिले, वडाका उम्मेदवार वडाकै प्रतिनिधिले छान्ने प्रणाली विकास गर्नैपर्छ । टिकट पाउन केन्द्रीय नेताका घर धाउने होइन, स्थानीय कार्यकर्ता, जनतासँग पुग्ने, भिज्ने, जनताको काम गर्ने छवि बनाउने अवस्था ल्याउँछौँ ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर