फेरि रास्वपामा ढाकाकुमारको ढक ढक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित पूर्वसांसद ढाकाकुमार श्रेष्ठले पोलेका केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अघि बढाएको छ। बुधबार पार्टी प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति निकाल्दै मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादनको बैठकले थापामाथि अनुसन्धान सुरु गरिएको बताएका छन्।
गएको चैतमा रास्वापाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको छ। उक्त अडिओमा उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै रकम मागेको सुनिन्थ्यो। त्यसपछि श्रेष्ठले उक्त अडिओ आफ्नो नभएको दाबी गरेका थिए। तर केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा उनले थापा कोर टिमको सदस्य रहेको र मन्त्री बनाइदिन्छु भनी आफूसँग तीन करोड रुपैयाँ मागेको आरोप लगाएका थिए। ढाकाकुमारले उक्त आरोप लगाएपछि छानबिन प्रक्रिया अघि बढाइएको प्रवक्ता ढकालले बताएका छन्।