अबको चार वर्षमा फास्ट ट्र्याक र निजगढ विमानस्थल बन्ने अर्थमन्त्रीको दावी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् ।

११० औँ बीपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक एक गोष्ठीमा अर्थमन्त्री महतले लुम्बिनीको गौतमबुद्ध र कास्कीको पोखरा विमानस्थलभन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको विचार व्यक्त गरे ।

उनले भने, ‘हामीले पहिला लुम्बिनी र पोखरा एअरपोर्ट बनायौँ । सबैभन्दा पहिला निजगढ बनाउनुपर्थ्यो । हामीले कतिपय प्राथमिकतालाई सही यकिन गर्न सकेका छैनौँ । निजगढको विषयमा गर्ने–नगर्ने भन्ने धेरै भयो ।’

महतले अबको चार वर्षसम्म काठमाडौं–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा निजगढ विमानस्थल पनि बनाइसक्ने दाबी गरे । उनले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

अर्थमन्त्री महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको बताए । उनले आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्ने र सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताए । निजी क्षेत्रले उत्पादन गरेको कुरामा वितरणको नेतृत्व सरकारले लिनुपर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर