प्रधानमन्त्री प्रचण्ड अराजक हुँदै गएको शेखर कोइरालाको आरोप

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार फेर्नुपर्ने संकेत गरेका छन् ।

११०औं बीपी जयन्तीको सन्दर्भमा आइतबार मकवानपुरको हेटौंडा–११ स्थित नवलपुरमा बीपीको शालिक अनावरण गर्न आइपुगेका कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा मात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबी गरे ।

उनले प्रधानमन्त्री दाहाल अराजक हुँदै गएको आरोपसमेत लगाए । ‘देशमा द्वन्द्व गराउने र द्वन्द्व निम्त्याउने प्रयास भइरहेकाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशलाई अप्ठ्यारो पारिरहेको छ,’ वरिष्ठ नेता कोइरालाले कांग्रेसकै समर्थनमा निर्माण भएको हालका सरकार परिवर्तन गर्ने वा नगर्ने विषयमा पार्टीभित्र छलफल हुने बताए ।

‘हामी देशकै ठुलो दल हौं । हाम्रो ९० सिट छ । यो सबै विषयलाई विचार गरेर अगाडि बढ्छौं,’ उनले यसैगरी सरकार सञ्चालन भएको खण्डमा देश अप्ठ्यारो स्थितमा पुग्ने दाबी गरे । उनले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने समेत बताए । ‘हाम्रो पार्टीमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था रहेको छ,’ उनले थपे ।

प्रधानमन्त्रीकै कारण धरान घटना भएको उनको टिप्पणी छ । ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौं भनेर भन्नुभयो, सुर्खेतमा गएर एकदुई महिनाभित्र डेढ दुई लाख जना मानिस सडक उतार्छौं भन्नुभयो,’ कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौं र जातीय राज्य बनाउँछौं भन्दै हिड्दा धरानमा घटना घट्न पुगेको दोहो¥याए । ‘धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो,’ उनले थपे ।

पार्टीभित्रको आन्तरिक समस्यालाई सामान्यरूपमा बुझ्नसमेत कार्यकर्तालाई कोइरालाले आग्रह गरेका छन् । ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । पार्टीभित्र असन्तुष्टि हुन्छ । हरेक पार्टीभित्र समस्या आउँछ । यसलाई चिर्दै हामी अगाडि बढ्ने हो,’ उनले भने, ‘अन्य पार्टीमा नेता र कार्यकर्ता बोल्न सक्दैनन् । हाम्रो पार्टीभित्र गुनासो र चित्त नबुझेको कुरा राख्छौं । नेपाली कांग्रेस फुट्दैन ।’

उनले देशको अखण्डता र सार्वभौमसत्तालाई जोगाउने जिम्मेवारी कांग्रेसकै काँधमा आएको बताए । ‘अहिले कांग्रेसलाई चौतर्फीरूपमा आक्रमण भएको र त्यसलाई परास्त गर्न जरुरी छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर