“चिनियाँ राजदूतको अभिव्यक्तिबारे अध्ययन गरिहेका छौं”

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले चिनियाँ राजदूतले दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले अध्ययन गरिरहेको बताएका छन्। नेपालको भारत र चीन दुवै छिमेकीसँगको सम्बन्ध मित्रवत र घनिष्ठ भएको भन्दै मन्त्री साउदले यसलाई लिएर हुने अभिव्यक्ति गलत हुने टिप्पणी गरे। ‘नेपाल सबै अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चाहन्छ। सहयोगका लागि नेपाल जहिले पनि सम्मान गर्न चाहन्छ,’ प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री साउदले भने, ‘यस विपरीत हुने गतिविधि नेपालका लागि मान्य हुँदैन।’

नेपालका लागि चिनियाँ राजदूत छन सोङ केही दिन अघि नेपाल र भारतबीचको विद्युत् व्यापारलाई लिएर टिप्पणी गरेका थिए। शनिबार काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा बोल्दै चिनियाँ राजदूत छनले भनेका थिए ‘भारतसँगको विद्युत् व्यापारबाट नेपालले घाटा बेहोरिरहेको छ। यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ?’

उक्त अभिव्यक्तिलाई लिएर बिहीबार प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले आलोचना गरेका थिए। बैठकमा परराष्ट्रमन्त्री साउदले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी अन्तिम रुपमा चलिरहेको जानकारी गराए। प्रधानमन्त्रीको चीन भ्रमणमा ‘डेलिभरी योग्य’ परियोजना प्रस्ताव गर्ने तयारी रहेको मन्त्री साउदको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर