पेट स्क्यान मेशिन खरिद गर्न स्वास्थ्य सचिवको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यसै वर्ष पेट स्क्यान (पोजिट्रोन इमिशन टोमोग्राफी, पेट) मेशिन खरिद गर्न निर्देशन दिएका छन् । क्यान्सर रोग कुन भागमा कति क्षेत्रफलमा फैलिएको छ भनेर निदान गर्न उक्त मेशिन आवश्यक पर्ने र साइक्लोटोन उत्पादन गर्ने उपकरण पनि यसै वर्ष खरिदका लागि प्रक्रिया अघि बढाउन डा. पोखरेलले निर्देशन दिए ।

अस्पतालको निरीक्षण भ्रमणपछि कार्यक्रममा सचिव पोखरेलले हाल यस अस्पतालले पूर्णता पाएको अवस्थामा पनि क्यान्सरको उपचारका लागि अति आवश्यक यी दुई उपकरण खरिद गर्न नसके कहिले हुने भन्ने प्रश्न गरे । उनले भने, “जसरी हुन्छ प्रक्रिया पूरा गरेर आउनुहोस् अनि खरिदका लागि पैसा लैजानुहोस् । हाम्रो खातामा हामी पैसा राख्न चाहँदैनौँ”, चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताल देशकै महत्वपूर्ण भएको चर्चा गर्दै सचिव पोखरेलले भने, “जसरी हामीले यहाँको भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा खर्च गरेका छौँ त्यसको आउटपुट देखिन्छ ।”

कार्यकारी निर्देशक डा. शिवजी पौडेलले आफ्नो क्षमताले भ्याएसम्म अस्पतालको हितमा काम गर्ने बताए । त्यसैगरी अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपानेले अस्पतालले हाल पूर्णता पाएको अवस्थामा अब काम गरेर देखाउने दिन आएको बताए । अस्पतालमा आजको आवश्यकता भनेको पेट स्क्यान उपकरण रहेकाले सबै मिलेर खरिदका लागि पहल गर्न उनले आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर