काठमाडौं उपत्यकामा आँखा रोग कन्जेक्टिभाइटिस हराउँदै

काठमाडौं । काठमाडौं उपत्यकामा एक महिनाअघि उच्च बनेको आँखा पाक्ने संक्रमण भाइरल कन्जेक्टिभाइटिस हराउँदै गएको छ। उपत्यकाका प्रमुख आँखा अस्पतालहरूमा कन्जेक्टिभाइटिसका बिरामीको दर १५ प्रतिशतमा झरेको छ ।

एक महिनाअघि कीर्तिपुर आँखा अस्पतालको ओपिडीमा आइपुग्ने बिरामीमध्ये ६५ प्रतिशतसम्ममा यो संक्रमण देखिएको थियो । तर, पछिल्ला केही दिनयता यो दर १५ प्रतिशतमा झरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक बैद्य बताउँछन् । तिलगंगा आँखा प्रतिष्ठानमा पनि यो दर २० प्रतिशतमा झरेको तथ्यांक छ । संक्रमण घट्दै गएपनि जोखिम भने कायमै रहेको चिकित्सकहरु बताउँछन् ।

प्रतिष्ठानमा दैनिक १२० जनाका दरले कन्जेक्टिभाइटिसका बिरामी आइरहेको अस्पतालको तथ्यांक छ । एक महिनाअघि यो दर दैनिक १६० देखि २०० सम्म थियो । अहिले देखिएको भाइरल कन्जेक्टिभाइटिस बर्खायाममा मात्रै नभर्इ सबै सिजनमा देखिने गरेको चिकित्सकहरू बताउँछन् । प्रकोपकै रूपमा भने सन् २००३ यता योवर्ष मात्रै देखिएको हो ।

डा. बैद्यका अनुसार सामान्यतः भाइरल कन्जेक्टिभाइटिस संक्रमितबाट पाँच दिनसम्म अरुलाई सर्ने जोखिम रहन्छ । औषधि सुरु गरेको भएपनि पाँच दिनसम्म संक्रमितबाट अरूमा सर्ने सम्भावना रहने उनको भनाइ छ । यदि संक्रमण आँखाको नानीसम्म नपुगेको भए सात दिनसम्ममा निको हुने बाल आँखा रोग विशेषज्ञ डा. सबिना श्रेष्ठ बताउँछन् । तर, लक्षण हराए पनि दुई सातासम्म नियमित औषधि प्रयोग गर्नुपर्ने उनको भनाइ छ । तर, कन्जेक्टिभाइटिसको शंका लागेमा जथाभावी औषधि नलगाइ विशेषज्ञकहाँ जानुपर्ने उनको सुझाव छ ।

एक महिनासम्म आँखाको मेकअप नगर्न सुझाव

एउटै सामग्रीबाट धेरैजनाले मेकअप गर्दा संक्रमण फैलिने जोखिम बढेर जान्छ । संक्रमण भएका व्यक्तिहरूले पनि दुई साता बढी आँखाको मेकअप नगर्न डा. वैद्यको सुझाव छ । भाइरल कन्जेक्टिभाइटिस निको भएको दुई सातादेखि एक महिनासम्म आँखाको मेकअप नगरेको राम्रो भनेका छन् । किनकी त्यही संक्रमण नभएपनि मेकअपका कारण अन्य संक्रमण थपिने जोखिम रहन्छ, डा. वैद्य भन्छन् । एउटै सिजनमा एउटै व्यक्तिलाई संक्रमण दोहोरिने जोखिम पनि रहने उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर