अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको जानकारी दिए । उनले केही समस्याका बाबजुद आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गरे ।

‘अर्थतन्त्रमा केही समस्या आएका छन् । विविध कारणबाट आएका यी समस्याको समाधानको आवश्यकता छ,’ अर्थमन्त्री डा महतले भने, ‘राज्य संयन्त्रबाट जहाँ कमी कमजोरी भएको छ त्यहाँ सुधारका लागि निरन्तर रूपमा लागिपरेका छौँ । केही सीमितताका बाबजुद अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ ।’

पर्यटक भित्रिने क्रम बढिरहेको, विदेशी मुद्राको पर्याप्त सञ्चिति र अन्य आर्थिक गतिविधि अघि बढाउनका लागि भएका समस्यालाई सहजीकरण गर्नेतर्फ मन्त्रालय लागिपरेको उनले जानकारी दिए । राजस्व सङ्कल्प अपेक्षाअनुसार नबढे पनि तुलनात्मक रूपमा गत आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको अर्थमन्त्री डा महतको भनाइ छ ।

राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार सहजीकरण गर्न सरकार तयार रहेको बताए । अर्थतन्त्र सुधारोन्मुख बनाउन सकारात्मक ‘डिस्कोर्स’को आवश्यकता भएको उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर