बागमती प्रदेशमा चार डेंगु सङ्क्रमितको मृत्यु

काठमाडौं । बागमती प्रदेशमा ४ जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा दुई जना र धादिङ, मकवानपुरका एक÷एक जनाको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले ललितपुरमा डेंगु सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार इमाडोलकी ३८ वर्षीया महिला र थैवका ७१ वर्षीय पुरुषको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको बताए। यसअघि डेंगु सङ्क्रमित भएर चितवनमा उपचारको क्रममा मकवानपुरका ४१ वर्षीय पुरुष र चितवनमै उपचारको क्रममा धादिङकी ७२ वर्षीया महिलाको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ९ गते शनिबारसम्म प्रदेशका १३ जिल्लामा तीन हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिए । प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा २ हजार ५५३, काठमाडौंमा ४०६, मकवानपुरमा २५५, ललितपुरमा १९४, चितवनमा १७५, भक्तपुरमा १२९, नुवाकोटमा ७९, रामेछापमा ४२, काभ्रेपलान्चोक ३९, सिन्धुलीमा २७, सिन्धुपाल्चोक र दोलखामा १२÷१२ जनामा डेंगु पुष्टि भएको छ ।

सबैभन्दा कम रसुवामा ६ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार ३९ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क छ । मन्त्रालयका अनुसार जनवरीमा ५७, फेब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा ११८, जुलाईमा ८६२ र अगस्ट २५ सम्म तीन हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो एक साताको तथ्याङ्क अनुसार दोलखा, सिन्धुपाल्चोक र रसुवामा डेंगु सङ्क्रमितको सङ्ख्या स्थिर रहेको छ भने धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, रामेछाप, चितवन, काभ्रेपलान्चोक, सिन्धुली र मकवानपुरमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
भदौमा डेंगु सङ्क्रमण भएका बिरामीको सङ्ख्या बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९ मा ४ हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा डेंगु सङ्क्रमण देखिएको थियो भने सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेंगु रोग सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर