दुर्गा प्रसाईं मानसिक रोगी : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं मानसिक रोगी भएको बताएका छन्। एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको आयोजनामा शुक्रबार साँझ विराटनगरमा भएको छलफल कार्यक्रममा अध्यक्ष ओलीले दुर्गा प्रसाईंको नाम लिएनन् तर प्रसाईंलाई नै लक्षित गर्दै उनी मानसिक रोगी भएको बताए।

व्यवसायी प्रसाईं केही समययता मारवाडी समुदायका व्यवसायीलाई विभिन्‍न आरोप लगाउँदै उनीहरूलाई बदनाम गर्ने अभियानमा छन्। ‘त्यो उनको जिम्मेवारीपूर्ण बोली होइन, उनले सोचीबिचारी बोलेका पनि होइनन्’, पूर्वका व्यवसायीलाई सम्बोधन गर्दै ओलीले भने, ‘खासमा उनमा मानसिक समस्याको कुरा छ। त्यसैले के-के बोल्छन् के-के! आफैँ थाहा पाउँदैनन्। मलाई पनि व्यक्तिगत गाली कति गरे, तपाईंहरूले सुन्‍नु नै भयो होला।’

व्यवसायीलाई अध्यक्ष ओलीको आग्रह थियो, ‘त्यसैले उनले भनेका कुरामा चिन्ता नगरौँ, बरु उनमा सहानुभूति राखौँ। उनको समस्या छिटो ठिक होस् भन्‍ने कामना गरौँ।’ उनले जातीय रूपमा प्रसाईंले व्यवसायीलाई गाली गरेको विषय कुनै पार्टीको नीतिअन्तर्गत नपर्ने बताए।

ओलीको भनाइ थियो, ‘यो कुनै पार्टीको नीति होइन। उनको पनि नीति होइन। उनमा समस्या छ। त्यसैले बोलेका हुन्।’ उनले उद्यमी-व्यवसायीको कुनै जाति नहुने र सबै जातिका नागरिक व्यवसायी हुनसक्ने तर्क राख्तै एक जनाले मारवाडी-मारवाडी-मारवाडी भनेर गाली गर्दैमा केही नहुने धारणा राखे। ‘ती एक जना को हुन् भनेर अन्दाज गरिहाल्नुभयो होला, नाम नभनौँ’, ओलीको कथन थियो, ‘युट्युबेले पनि तिनको दुरुपयोग किन गर्छन् थाहा छैन् ।’

ललिता निवास काण्डमा चन्दाको खेल

अध्यक्ष ओलीले सरकारले भनेजति चन्दा नदिने व्यवसायीलाई ललिता निवास काण्डमा फसाइरहेको आरोप लगाए। उनले सरकारले ललितानिवास जमिनका मुख्य योजनाकारलाई छाडेर सातौँ लेनदेनपछिका खरिदकर्तामध्ये कतिलाई थुनेर र कतिपयलाई भाग्‍न बाध्य बनाएर दुःख दिइरहेको चर्चा गरे।

उनले दोहोर्‍याए, ‘यसमा अरू केही कारण देखिँदैन। व्यवसायीले भनेजति चन्दा दिएनन् कि भन्‍ने छ।’ उनले व्यवसायी वा अन्यले राज्यले अधिग्रहण गरेको सम्पत्तिलाई देशको नियमकानुनअनुसार खरिद गरेको जिकिर गरे। उनले यसरी नियमकानुनअनुसार खरिद गर्दा पनि व्यवसायीलाई थुनेर र कसैलाई भाग्‍न बाध्य बनाएर सरकारले अनावश्यक स्टन्ट गरिरहेको टिप्पणी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर