चाँडै ल्याउँदैछ भारतीय कम्पनीले डेंगुविरुद्धको खोप

काठमाडौं । भारतको भ्याक्सिन निर्माता कम्पनी इन्डियन म्युनोलोजिकल्स लिमिटेड (आइआइएल) ले सन् २०२६ को सुरुवातभित्रै डेंगु ज्वरोको खोप व्यावसायिकरुपमा सार्वजनिक गर्ने तयारी गरेको छ । भारतकै पहिलो डेंगु खोप विकास गर्ने दौड तातेको बेला कम्पनीका एक उच्च अधिकारीले उक्त जानकारी गराएको रोयटर्सले उल्लेख गरेको छ ।
लामखुट्टेबाट सर्ने डेंगु रोग विगत केही वर्षदेखि भारतमा जनस्वास्थ्यको प्रमुख चिन्ताको विषय बनेको छ । भारतमा मात्रै नभई पछिल्लो केही वर्षदेखि नेपालमा पनि डेंगुको प्रकोप बढ्न थालेको छ । विगत केही महिनायता नै धरानमा डेंगुबाट ११ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । काठमाडौं महानगरपालिकाले पनि डेंगीको प्रकोप रोक्न आवश्यक तयारी गरिरहेको छ । यता, भारतमा पनि सन् २०२३ को जनवरीदेखि जुलाई महिनाको बीचमा डेंगु संक्रमणका ३१ हजार ३६४ केसहरु रिपोर्ट गरिएको छ । यस अवधिमा डेंगु सम्बन्धित रोगबाट मात्रै भारतमा ३६ जनाको मृत्यु भइसककेको छ । भारतमा सन् २०२० देखि २०२१ सम्म एक वर्षको अवधिमै डेंगु संक्रमणको घटना ३३३ प््तिशतले बढेको थियो ।
इन्डियन म्युनोलोजिकल्सका प्रबन्ध निर्देशक के आनन्द कुमारले प्रारम्भिक चरणमा १८ देखि ५० वर्ष उमेरका करिब ९० व्यक्तिमा गरिएको खोपको परीक्षणले कुनै प्रतिकूल प्रभाव नदेखाएको बताए । पहिलो चरणको ट्रायल पूरा गर्न लागिएको र छिट्टै अर्को चरणको ट्रायल अघि बढाउने उनले बताए । सबै ट्रायल पूरा गर्न कम्तिमा २ देखि ३ वर्ष लाग्ने भएकाले खोपको व्यावसायिक प्रयोग सन् २०२६ को जनवरी महिनादेखि गर्ने कुमारको भनाइ छ । अमेरिकामा रहेको नेसनल इन्स्टिच्युट अफ हेल्थले इन्डियन म्युनोलोजिकल्सलाई भ्याक्सिन विकास गर्न आवश्यक भाइरस उपलब्ध गराएको रोयटर्सले उल्लेख गरेको छ । भारतमा इन्डियन म्युनोलोजिकल्स बाहेक सिरम इन्स्टिच्युट अफ इन्डिया र पानसिया बायोटेकले पनि डेंगु भ्याक्सिन निर्माणका लागि काम गरिरहेका छन् ।विश्वभर सन् १९२० को दशकदेखि नै डेंगु भ्याक्सिन विकासका लागि कामहरु भइरहेका छन् । तर ४ वटै डेंगु भेरियन्टविरुद्ध प्रतिरोधात्मक क्षमता सिर्जना गर्नुपर्ने आवश्यकताले ठोस उपलब्धि हासिल हुन सकेको छैन । हाल विश्व स्वास्थ्य संगठनले लाइसेन्स प्रदान गरेको एक मात्र डेंगु भ्याक्सिन ‘डेंगभ्याक्सिया’ रहेको छ । यसलाई युरोपेली युनियनले सन् २०१८ मा मान्यता दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर