६ अर्ब बजेटको चन्द्रयान–३ ले ३ खर्ब भारु कमाउँदै

 

काठमाडौं । भारतले निकै सानो रकम खर्चमा चन्द्रमामा अवतरण गरेर विश्व चकित बनाइरहेको बेला भारतीय सेयर बजारका स्पेस (अन्तरिक्ष) सेक्टरका स्टकहरुमा भने खरबौं लगानी थपिएको छ । भारतले चन्द्रयान–३ का लागि मात्र ६ अर्ब १५ करोड भारतीय रुपैयाँ (भारु) खर्च गर्दा स्पेस सेक्टरका स्टकहरुमा भने ३ खर्ब भारु बढीको र्‍याली देखिएको हो ।
भारतको चन्द्रमा मिसन सफल भएपछि भारतीय लगानीकर्ताहरुले एरोस्पेससँग कुनै न कुनै रुपमा सम्बन्धित सबै कम्पनीहरुमा खरबौं रुपैयाँ लगानी खन्याएका हुन् । भारतीय सञ्चार माध्यम इकोनोमिक टाइम्सका अनुसार यस साताको पहिलो ४ कारोबार दिनमा स्पेस सेक्टरसँग सम्बन्धित १३ सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण ३ खर्ब ७ अर्ब रुपैयाँले बढेको छ ।
यसअघि कमै मात्र नाम सुनिएको स्मलक्याप कम्पनी सेन्टम इलेक्ट्रोनिक्सको सेयर यस साता २६% ले बढेको छ । सेन्टमले चन्द्रयान–३ का लागि भारतीय अन्तरिक्ष संगठन (इसरो) लाई महत्वपूर्ण मोड्युल र प्रणालीहरु आपूर्ति गरेको थियो । यता, अभ्यान्टल, लिन्ड इन्डिया, पारस डिफेन्स र भारत हेभी इलेक्ट्रिकल्सको सेयरमा पनि यो साता दोहोरो अंकको वृद्धि भएको छ ।
भारतको सफल ‘मुन मिसन’ ले लगानीकर्तालाई यति गहिरो प्रभाव पार्यो कि उपभोक्ता समाग्रीहरु उत्पादन गर्ने ‘गोदरेज इन्डस्ट्रिज’ को सेयर भाउसमेत ८% ले बढ्यो । लगानीकर्ताहरुले इसरोलाई महत्वपूर्ण उपकरणहरु उपलब्ध गराउने ‘गोदरेज एरोस्पेस’ लाई ‘गोदरेज इन्डस्ट्रिज’ को सहायक कम्पनी भन्ने ठानेपछि अन्तरिक्ष क्षेत्रसँगै कुनै सम्बन्ध नै नरहेको ‘गोदरेज इन्डस्ट्रिज’ को पनि भाउमा उछाल आएको हो ।
४४७ अर्ब डलरको विश्वव्यापी ‘स्पेस मार्केट’ मा यी भारतीय कम्पनीहरुले विश्वव्यापी ध्यानाकर्षण गराउन सक्ने सम्भावना रहेको छ । यद्यपि, भारतीय लगानीकर्ताहरुले भने यी कम्पनीहरुको वित्तीय विवरणलगायत आधारभूत पक्षहरुको केही ख्याल नै नगरी लगानी खन्याएको देखिन्छ । विश्वव्यापी स्पेस मार्केटमा ५% भन्दा कम बजार हिस्सा भएको भारतले सन् २०२३ मा आफ्नो अन्तरिक्ष क्षेत्र निजी कम्पनीहरुका लागि पनि खुला गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर