नेपालले मलेसियालाई दियाे ८४ रनकाे लक्ष्य

काठमाडौं । चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले घरेलु टाेली मलेसियालाई ८४ रनकाे सामान्य लक्ष्य दिएकाे छ ।

मलेसियाकाे बायोमास ओभल मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायाे । वर्षाका कारण २० ओभरकाे खेल १८ ओभरमा झारिएकाे थियाे । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाइन् । बलिङतर्फ मलेसियाकी अइना हमिजा हशिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले २/२ विकेट लिइन् ।

आईसीसी महिला टी–२० विश्व कपको एसिया क्षेत्र छनोटअघि नेपाल, मलेसिया, हङकङ र कुवेतले यो शृङ्खला खेलिरहेका छन् । नेपालले शृङ्खलाको पहिलो खेलमा हङकङ र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । आज घरेलु टोलीलाई हराउन सकेमा नेपाल अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनल खेल्नेछ ।

शीर्ष दुई टोलीबीच फाइनल खेल भोलि शनिवार हुनेछ । पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानका लागि खेल्नेछन् । त्यसपछि नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले एसिया क्षेत्र छनोटका खेल मलेसियामा नै खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा यूएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर