तातोपानीबाट मानसरोवर पर्यटकीय रुटका लागि कूटनीतिक पहल गर्नेछु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी चीन भ्रमणका क्रममा नेपाल–चीनबीचको तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने र सोही मार्गबाट मानसरोवर पर्यटनका लागि राजनीतिक र कूटनीतिक पहल गर्ने बताएका छन्।

तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही रुटबाट मानसरोवर पर्यटकीय मार्गका लागि राजनीतिक र कूटनीतिक पहल गरिदिन ध्यानाकर्षण पत्र लिएर शुक्रबार बिहान बालुवाटार पुगेको सांसद माधव सापकोटा नेतृत्वको टोलीसँग प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्रीले ‘प्रचण्ड’ले सिन्धुपाल्चोकका लागि आफूले विगतमा पनि ध्यान दिएको स्मरण गर्दै सडक स्तरोन्नति र मानसरोवर जाने रुटबारे नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका हुन्।

सांसद सापकोटाले प्रधानमन्त्री दाहाललाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सिमानामा पर्ने जुरे पहिरोदेखि लिपिङसम्मको करिब ३० किलोमिटर सडक स्तरोन्नति र आगामी सेप्टेम्बरदेखि नाकाबाट मानव आवतजावत गर्ने सहमति भएको सन्दर्भमा सो रुट प्रयोग गरी मानसरोवर जान कूटनीतिक पहल गरिदिन ध्यानाकर्षण गराएका थिए।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बलेफी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको जुरेदेखि नाकासम्मको करिब ३० किलोमिटर सडक भूकम्प र बाढीका कारण नराम्ररी बिग्रिएको छ। जीर्ण सडकका कारण सो क्षेत्रमा निकै सास्ती खेप्नु परेको छ। चीनसँगको मितेरी पुल रहेको, ऐतिहासिक नाका क्षेत्र जोड्ने सो सडकको स्तरोन्नतिका लागि विशेष व्यवस्थाको हाम्रो पुरानै माग सुनुवाई हुन सकेको छैन, यस सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यान जानेछ भन्ने विश्वास व्यक्त गर्दछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर