देशका विभिन्न स्थानमा बाढीको खतरा सतर्क रहन अपिल

काठमाडौं । वर्षासँगै देशका विभिन्न स्थानमा बाढी र डुबानको जोखिम बढिरहेको जानकारी दिँदै जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन भन्दै ‘अलर्ट’ चेतावनी जारी गरेको छ। विभागका अनुसार बागमती नदीको पँधेरादोभान बाढी मापन केन्द्रमा जलसतह (बाढी) ले सतर्कता तह पार गरिसकेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र रौतहट र सर्लाहीका डुबान क्षेत्रमा रहेकाहरूले आज बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन आवश्यक छ।

यसैगरी कैलालीका टीकापुर, चिसापानीलगायत आसपासको स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना देखिएकाले ससाना नदीमा ठूलो बाढी आउने सम्भावना छ। तसर्थ त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले सुझाव दिएको छ। विभागको सूचनाअनुसार लमजुङको खुदीबजार र आसपासका स्थानमा भारी वर्षा भएको छ। जसका कारण खुदीखोलालागायत लमजुङ भई बहने साना नदीमा बाढीको जोखिम देखिएको छ। साथै बेँसीसहर चामे सडकखण्डमा पहिरोको जोखिम हुनसक्छ। त्यसैले आज बिहान ९ बजेसम्म सतर्कता अपनाउन जरुरी छ।

यस्तै दूधकोसी नदी रबुवाबजार बाढीमापन केन्द्र, ओखलढुंगामा जलसतह (बाढी) ले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले दूधकोसीको सुनकोसी दोभानसम्म नदी तटीय क्षेत्रमा आज बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विभागका अनुसार कमला नदी, रानीवास सिन्धुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ र बढ्दो छ, कमला बेलसोत उदयपुरमा पनि जलसतह बढ्दो छ। यसैले सिन्धुली, उदयपुर, धनुषा र सिराहाका तटीय क्षेत्रलगायत डुबान भइरहने होचा स्थानमा रहेका नागरिकले आज बिहान ११ बजेसम्म सतर्कता अपनाइन राख्न विभागले भनेको छ।

यसैगरी दार्चुला, म्याग्दी, कास्की, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, खोटाङ, उदयपुर, धनुषा, इलाममा भारी वर्षा भएकाले ससाना नदीमा आकस्मिक बाढी तथा पहिरोको समेत जोखिम देखिएको विभागले जनाएको छ। तसर्थ ती क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन आवश्यक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर