जलेश्वर बजार बन्द, मिटरब्याजीमाथि कारवाही नगरुञ्जेल विरोध जारी रहने

काठमाडौं । उद्योग वाणिज्य सङ्घ जलेश्वरले बुधबार जलेश्वर बजार बन्द गराएको छ । बजार बन्द भएपछि अवस्था तनावग्रस्त बनेको छ । मिटरव्याज पीडितहरुले मङ्गलबार दिउँसो निकालेको विरोध जुलुस प्रर्दशन गर्ने क्रममा जलेश्वरका व्यवसायीलाई सडकमै दुर्व्यवहार गरी कुटपिट गरेको भन्दै बुधबार बिहानैदेखि निजी विद्यालय, पसल, बजार बन्द गरेर व्यपारीहरु आन्दोलन उत्रेका छन्

मिटरब्याज पीडितले एक जना स्थानीय व्यवसायीलाई कुटपिट गरेको थियो भने अर्का एक जना व्यवसायीलाई सुरक्षाका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । मिटरब्याज पीडितहरुले सरकारले ल्याएको ऐनमा संशोधनको माग गर्दै मङ्गलबार जलेश्वरमा प्रदर्शन गर्नुका साथै पाँच बुँदे माग उल्लेखित ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बुझाएका थिए ।

मिटरब्याज पीडितको नाममा अराजक गतिविधि गर्नेहरुलाई कारवाही नभएसम्म बजार बन्द यथावत् राख्ने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लभराजा सिंहले बताए । “प्रदर्शन गर्ने बहानामा स्थानीय व्यवसायीलाई दुर्व्यवहार गर्नु र कुटपिट गर्नु गलत हो”, सङ्घका अध्यक्ष सिंहले भने, “आफ्नो मागका लागि प्रदर्शन गर्ने बहानामा स्थानीय व्यवसायीलाई कुटपिट र दुर्व्यवहार गर्नेलाई कारवाही हुनुपर्छ । दोषीलाई कारवाही नगरुन्जेल बजार बन्द रहनेछ ।”

जलेश्वर बजार बन्दका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले कुनै अप्रिय घटना हुन नदिन सदरमुकाम जलेश्वरमा सुरक्षाकर्मी परिचालन गरेका छन् । यता मिटरब्याज पीडितले आन्दोलन बिथोल्न आफूहरुमाथि यस्तो आरोप लगाएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर