सुन तस्करी छानबिन समितिको प्रारम्भिक मस्यौदा तयार

काठमाडौं । सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ । सिंहदरबारमा मङ्गलबार बिहान बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो ।
सर्वदलीय बैठकमा सरकार सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएपछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्य दललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारी अनुसार आफूहरूले त्यसको मस्यौदा तयार पारेको र अब केहीबेरपछि बस्ने सर्वदलीय बैठकमा पेस गर्न लागिएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताउनुभयो ।

‘“हामीलाई आज अपराह्न राष्ट्रिय दलहरूको बैठक सम्माननीय प्रधानमन्त्रीजीले बोलाउनुभएको छ । त्यो बोलाउने बैठकमा हामीलाई त्यसको ड्राफ्ट कसरी बनाउने भनेर चाहिँ कुरा भएको थियो । हामीले त्यसलाई तयार गरेका छौँ ।,’’ प्रमुख सचेतक पाण्डेले भने, ‘‘हामी त्यो बैठकमा प्रस्तुत गर्छौँ । हामी तीन जना बसेर छलफल गरेर हामीलाई दिएको जिम्मेवारी अनुसार हामीले आफ्नो काम फत्ते गर्‍यौँ । हामीलाई त्यो बैठकमा प्रस्तुत गर्ने विषय वस्तुबारे ड्राफ्ट गर्न भनिएको थियो । त्यो हामीले पूरा गर्‍यौँ ।’’

प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको थियो । अब बस्ने सर्वदलीय बैठकले सो मस्यौदामाथि छलफल गरी सो समितिको कार्यादेश र संरचना टुङ्गो लगाएपछि संसद् बैठक सुचारु हुने नेताहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर