बेलायतमा सिरियल बेबी किलरलाई जन्मकैद

काठमाडौं ।  एक अस्पतालको नवजात शिशु युनिटमा काम गर्ने नर्स लुसी लेट्बीमाथि शिशुको मृत्युमा उनको संलग्नताको आशंका गर्दै विभाग प्रमुख डाक्टरले उजुरी गरे। तर, अस्पताल प्रशासनले लुसी नामकी ती नर्सविरुद्ध लगाइएको आरोपको जाँच गर्नुको साटो डाक्टरलाई चुप लगाउने कोशिस गर्‍यो। जब यो मामला प्रहरीसमक्ष पुग्यो, तबसम्म ७ बच्चाले ज्यान गुमाइसकेका थिए। ७ जना बच्चाको ज्यान बल्ल-तल्ल जोगाइएको थियो।

गिरफ्तार हुनुभन्दा पहिलेका ३ वर्ष शंकाको घेराम रहेकी नर्स लुसी त्यही अस्पतालमा काम गरिरहिन्। नवजात शिशु विभागका मुख्य डाक्टर डा स्टिफेन ब्रेयरेले अक्टुबर २०१५ मा चेतावनी दिँदै भनेका थिए, ‘सायद नर्सले नै यहाँ बच्चाको हत्या गरिरहेको हुनुपर्छ।’

बेलायतको चेशायरमा रहेको काउन्टेस अफ चेस्टर हस्पिटलमा ७ जना नवजात शिशुको हत्या र ७ जनाको हत्या कोसिसमा लुसी लेट्बीलाई दोषी ठहर्‍याइएको छ। पहिलो ५ नवजात शिशुको हत्या सन् २०१५ को जुनदेखि अक्टुबरको बीचमा भएको थियो। अन्य २ बच्चाको मृत्यु सन् २०१६ मा भयो। जाँचकर्ताले नर्स लुसी ड्यूटीमा भएका बेला उनीहरुको मृत्यु भएको पाएका छन्।

बीबीसी प्यानारोमा र बीबीसी न्यूजले बेलायतको यस बहुचर्चित सिरियल किलिङ मामलाको सोधखोज गरेको छ। बच्चाको हत्या गर्ने र नवजात शिशुमाथि हानी पुर्‍याएकी उनले आफूलाई कसरी बचाइरहिन् भन्ने खोज यसमा गरिरहेको हो। सन् २०१५ सम्म हरेक वर्ष २ वा ३ नवजात शिशुको मृत्यु हुन्थ्यो। तर, जुनमा केही अजीव घटना घटे। २ हप्तामा ३ जना नवजात शिशुको मृत्यु भयो। डा ब्रेयरेले म्यानेजर इरियन पावेल र अस्पताल निर्देशक एलिसन केलीसँग बैठक गरे।

ब्रेयरले भने, ‘हरेक पल्टको मृत्युपछि हामीले जाँच गर्‍यौं। त्यसमा पायौं कि ड्यूटीमा लुसी थिइन्।’ तर, उनले यस्तो गर्नेमा कसैलाई विश्वास थिएन। भनियो,  ‘उनी राम्री मान्छे हुन्। उनी हत्यारा हुन सक्दिनन्।’ ती ३ मृत्यु यसै सामसुम भए। अक्टुबरमा फेरि २ शिशुको मृत्यु भयो। त्यतिबेला पनि लुसी नै ड्यूटीमा थिइन्। पहिलोपल्ट ब्रेयरेलाई लुसीमाथि त्यतिबेला शंका लाग्यो, जतिबेला उनी बच्चामाथि हानी पुर्‍याइरहेको देखिएकी थिइन्। डा ब्रेयरेले युनिट म्यानेजर इरियन पावेललाई आशंका दर्शाए, तर पावेल मान्न तयार नै थिएनन्। अक्टुबर २०१५ को एक इमेलमा उनले मृत्यु दुर्भाग्यपूर्ण भने। तर लेट्बी जोडिनु संयोग रहेको उल्लेख गरे।

डा ब्रेयरले निर्देशक एलिसन केलीसँग कुरा गरे, तर त्यहाँ पनि उनलाई सुनिएन। डा ब्रेयर र उनका साथीहरु वार्डमा बिनाकारण बच्चाहरु गम्भीर बिरामी भइरहेको कुराले चिन्तित थिए। शिशुलाई अचानक क्रिटिकल केयर वा अक्सिजन दिनु परिरहेको थियो। त्यो त्यहीबेला हुन्थ्यो, जतिबेला लेट्बी ड्यूटीमा हुन्थिन्।

जब आशंका सत्यमा बदलियो
३ महिनाको अवधिमा २ शिशु मर्ने अवस्थामा पुगेर जोगिए। त्यसपछि वरिष्ठ म्यानेजरसँग डा ब्रेयरेको बैठक भयो। उनको कुरा सुनियो, तर नर्सलाई काम जारी राख्न भनियो। सन् २०१६ मा अर्को १ नवजात शिशुको मृत्यु भयो। त्यही महिनाको अन्त्यमा ३ बच्चा जन्माएकी आमाका २ बच्चाले २४ घन्टामा त्यहिँ ज्यान गुमाए। जतिबेला ड्यूटीमा लेट्बी थिइन्।

हतार-हतार स्टाफ मिटिङ बोलाइयो। तर,  ब्रेयर भन्छन्, ‘लेट्बीलाई छुट्टी लिन भनियो तर उनले इन्कार गरिन्। त्यसपछि ड्यूटीमा आउन भनियो। उनी ड्यूटीमा आउँदा खुसी र आत्मविश्वासी देखिएकी थिइन्।’ यही समय थियो डा ब्रेयरे र उनका सहकर्मी चिकित्सकको आशंका यथार्थमा बदलियो। उनीहरुले ड्यूटी एक्जिक्युटिभ कारेन रिसलाई लेट्बीलाई ड्यूटीबाट हटाउन भने, तर उनले मानेनन्। त्यसपछि एक अर्को बच्चा यसरी बिरामी भयो कि उनलाई जोगाउन हम्मे-हम्मे पर्‍यो। त्यो समय ड्यूटीमा लेट्बी नै थिइन्।

यसपछि लुसीले अन्य तीन ड्यूटी गरिन्। त्यसपछि उनलाई उक्त वार्डबाट हटाइयो। आश्चर्यजनक रुपमा शिशुको मृत्यु रोकियो। लुसीलाई निलम्बन गर्नुको सट्टा अस्पतालले रिस्क एन्ड प्यासेन्ट सेफ्टी अफिसमा सरुवा गर्‍यो। त्यहाँ नवजात वार्डका संवेदनशील कागजातसम्म उनको पहुँच थियो र साथै उनीमाथिको आशंका जाँचिरहेका केही वरिष्ठ अधिकारीसम्म उनको सम्बन्ध बन्यो।

दबाउने कोसिस
सन् २०१६ मा नवजात शिशु युनिटका एक डाक्टरले ईमेल लेखेर जाँचमा प्रहरीको मद्दत लिने कुरा गरे। तर अस्पताल म्यानेजर राजी भएनन्। मेडिकल निर्देशक इयान हार्वेले जवाफ दिए, ‘कारबाही गरिँदैछ। आगामी दिनमा यसबारे कुनै ईमेल नगर्नू।’ त्यसको दुई दिनपछि डाक्टरहरुको व्यवस्थापकका शीर्ष अधिकारीसँग कुरा भयो। जहाँ प्रहरी बोलाएमा राम्रो नहुने भन्दै चेतावनी दिइयो। त्यसले अस्पतालको छवि खराब गर्ने भनाइ उनीहरुको थियो।

बैठकले रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड केयरबाट नवजात शिशु वार्डको रिभ्यु गराउन भन्यो। उक्त विभागले अनपेक्षित मृत्युको विस्तृत जाँच गर्न सुझायो। त्यसपछि निर्देशक हार्वेले अर्का बाल रोग विशेषज्ञ डा जडेन डाउडनलाई उक्त मामला हेर्न आग्रह गरे। डा डाउडनले ४ बच्चाको फरेन्सिक जाँच गर्न सुझाए, तर यस्तो गरिएन। सन् २०१७ मा अस्पताल बोर्डको बैठक बस्यो। उल्टै वार्डका नेतृत्वकर्ता डाक्टरले समयमा उपचार नगर्दा मृत्यु भएको निष्कर्ष निकालियो। यसको केही हप्तापछि वार्डका ७ डाक्टरलाई बोलाएर सीईओ टोनी च्याम्बरले उनीहरुलाई लुसीसँग माफी माग्न भने। मामला त्यहिँ सकाउन चेतावनी दिए।

प्रहरी जाँचबाट पत्ता लाग्यो हत्याको तरिका
म्यानेजर के फरमानका अघि डाक्टर ब्रेयरे झुकेनन्। अन्तिममा प्रहरीलाई जाँचको जिम्मेवारी सुम्पियो। प्रहरीले नवजात शिशुको रहस्यमय मृत्युको आपराधिक जाँच सुरु गरे। जाँचको नाम राखियो, ‘अपरेशन हमिङबर्ड।’ प्रहरीलाई डा ब्रेयरे पूरै मद्दत गरिरहेका थिए। त्यही बेला एक मृतक शिशुको रगत जाँचको रिपोर्ट प्राप्त भयो। जसमा इन्सुलिनको मात्रा निकै धेरै देखिरहेको थियो।

शरीरमा यदि इन्सुलिन बन्छ भने सँगै सी-पेप्टाइड पनि बन्छ। तर, सी-पेप्टाइडको मात्रा शून्य थियो रिपोर्टमा। डा ब्रेयरेले भने, ‘त्यो देखेर म चकित परेँ। यसमा एकदमै स्पष्ट थियो कि इन्सुलिन दिएर शिशुलाई मार्ने कोसिस भएको थियो।’ त्यसको केही महिनापछि नर्स लुसीलाई गिरफ्तार गरियो। अस्पतालबाट निलम्बन गरियो। सन् २०१८ मा सीईओ  च्याम्बर्सले राजीनामा दिनुपर्‍यो र कार्यकारीका रुपमा डा सुसान गिल्बी नियुक्त भए। उनलाई हार्बेले उक्त वार्डका डाक्टरमाथि कारबाही गर्न संकेत गरेका थिए। तर, हार्वे आफूले त्यस्तो नभनेको बताउँछन्। नर्स लेट्बीमाथि ७ बच्चाको हत्या र १५ बच्चाको हत्या गर्ने प्रयास गरेको आरोप लगाइयो। ७ बच्चाको हत्या र ७ माथि कोसिस गरेको आरोप प्रमाणित भयो। म्यान्चेस्टर क्राउन कोर्टका न्यायाधीशले सोमबार उनीविरुद्ध जन्मकैदको फैसला सुनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर