संसदको गाँठो फुक्ने तयारी, आज सुन तस्करीसम्बन्धी छानविन समिति गठन गरिने

काठमाडौं । संसदमा जारी गतिरोधको अन्त्यका लागि छलफलमा बसेको सर्वदलीय बैठक अन्ततः उच्चस्तरीय छानविन समिति बनाउन सहमत भएको । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार साँझ बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनेमा सहमति जुटेको प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक पदम गिरीले बताए।

उनले उच्चस्तरीय समिति कस्तो बनाउने भन्नेमा सुवास नेम्बाङ, हितराज पाण्डे र रमेश लेखक रहेको तीन सदस्यीय समिति बनाइएको बताए। उनले भने, ‘हामीले सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानविन समिति बनाउने कुरा राख्यौँ । यसमा सरकारले पनि उच्चस्तरीय छानविन समिति बनाउने कुरामा तयारी छौँ भन्ने कुरा आएको छ । दलका नेताको तर्फबाट पनि सहमति भएको छ । त्यसमा केही ड्राफ्ट गर्नुपर्ने भएको हुनाले, सुवास नेम्बाङ हितराज पाण्डे र रमेश लेखकले भोलि बिहान ११ बजेसम्म ड्राफ्ट तयार पारेर त्यसलाई फाइनल रूप दिने र भोलि २ बजे शीर्ष नेताको बैठक बस्ने सहमति भएको छ । भोलिसम्म सहमतिमा पुग्छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्त पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय समिति बनाउने सहमति जुटेको र सहमति ड्राफ्ट गर्ने चरणमा पुगेको बताए। उनले भने, ‘सहमति ड्राफ्ट गर्ने चरणमा पुग्यो, सहमति भयो । नेताहरुलाई जिम्मा दिएको छ । भोलि संसद खुल्नेमा विश्वस्त छु ।’

सत्तारुढ दल नेपाली काँग्रेसमा प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको र सबै विकल्पका बारेमा छलफल भएको बताए। उनले भने, ‘छलफल भएको छ, सकारात्मक छ । सबैकुरा आएका छन् । सबै विकल्पमा सम्भावनामा छलफल भएको छ । भोलि बसेर टुंगोमा लैजानेछौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर