सुन तस्करीका आरोपी चिनियाँहरूसँग नेपाली नागरिकता भेटियो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता भेटिएको छ। सिआइबीले उनीहरुको साथबाट नेपाली नागरिकता र राहदानी बरामद गरेको हो। सातैजनाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता र राहदानी बनाएको अनुसन्धानबाट खुलेको छ। सुन प्रकरणका मुख्य नाइके भनिएका यो पुचेङलाई बिहीबार साँझ सिंहदरबारबाट सिआइबीले पक्राउ गरेको छ।

यस्तै बिहीबार साँझ नै ली वेङ सुङलाई पनि प्रहरीले लैनचौरबाट पक्राउ गरिसकेको छ। राजस्व अनुसन्धान विभागले पनि सुन ल्याउने चिनियाँ गिरोहका मुख्य नाइके उनीहरु ६ जना रहेको जनाएको छ। यस्तै प्रहरीले यही बुधबार काठमाडौंबाटै सुन तस्करी प्रकरणमा चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा टियान पिङ, वेन टोङ, डियाङ से फा र ली नेङ्गकाई थिए।

पक्राउमध्ये पिङ महिला र अन्य तीन पुरुष थिए। उनीहरुले सन् २०२१ र २२ मा काभ्रे प्रशासनबाट नेपाली नागरिकता र राहदानी लिएको खुलेको छ। चिनियाँले नेपाली राहदानी र नागरिकता लिएको विषयमा सिआइबीले थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउने तयारी गरेको छ। नेपाली युवतीसँग बिहे गरेर नेपाली नागरिकतासमेत लिएका दावा लामाले भने बेल्जियमको नागरिकता लिएका थिए। दावालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो।

हङकङ हुँदै आएको सुन तस्करी प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन्। यसअघि यस प्रकरणमा अनुसन्धान गरेको राजस्व अनुसन्धान विभागले पक्राउ परेका १८ मध्ये १७ जनालाई सिआइबीको जिम्मा लगाएको थियो। जसमा एकजना भने छुटिसकेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर