७५ जिल्लामा १५ हजार ३९४ जनामा डेंगु पुष्टि

काठमाडौं । डेंगु सङ्क्रमितको सङ्ख्या १५ हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा १५ हजार ३९४ जनामा पुष्टि भएको छ। हालसम्म १० जना सङ्क्रमितको मृत्यु भएको डा। मरासिनीले जानकारी दिनुभयो। हुम्ला र मुगुमा भने अहिलेसम्म डेंगु संक्रमण देखिएको छैन।

कुन प्रदेशमा कति ?

डा. मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ। सो प्रदेशमा ११ हजार ३७८ जनामा डेंगु पुष्टि भएको छ। यसैगरी, बागमती प्रदेशमा दुई हजार ४६४, गण्डकी प्रदेशमा ६०९, सुदूरपश्चिम प्रदेशमा ४६४, लुम्बिनी प्रदेशमा ३०८, मधेश प्रदेशमा १३५ कर्णाली प्रदेशमा ३९ जनामा डेंगु पुष्टि भएको छ। सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन्। सुनसरीमा आठ हजार ४४, मोरङमा एक हजार ६७७, धादिङमा एक हजार ७५६, कास्कीमा २४९, दार्चुलामा १९४, झापामा ९१७, काठमाडौंमा २०७, सङ्खुवासभामा १७७, तनहुँमा १३० जनामा डेंगु पुष्टि भएको छ।

डेंगु के हो ?

सरुवा रोग विशेषज्ञ डा। विमल चालिसेका अनुसार डेंगु एक प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो। डेंगु भाइरसको कारणले यो रोग लाग्ने गर्छ। चालिसेका अनुसार डेंगु भाइरसका चार प्रकारका सेरोटाइप हुन्छन्। एक पटक एउटा सेरोटाइपको डेंगु लागिसकेपछि जीवनभर त्यसै सेरोटाइपबाट पुनः डेंगु रोग नलाग्ने चालिसे बताउँछन् । तर अन्य सेरोटाइपको भाइरस बाट डेंगु लाग्न सक्छ जुन पहिलो स्वरूपको तुलनामा बढी खतरनाक हुने डा. चालिसेको भनाइ छ। डेंगु रोगले रोग प्रतिरोधात्मक क्षमता कम भएका र दीर्घरोगी, बालबालिका, गर्भवती महिलालाई जोखिममा पार्ने भएकाले विशेष ध्यान दिन चिकित्सकको आग्रह छ। उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्ने, डाढ, जोर्नी तथा मांसपेशीहरु दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने यसका प्रमुख लक्षण हुन्।

यसका साथै लगातार बान्ता हुने, बान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने बेहोस हुने आदि जटिल लक्षण देखिने डा। चालिसेको भनाइ छ।

दुःखाइ कम गर्ने औषधि नखान आग्रह ?

डेंगु भाइरसबाट हुने भएकाले यसको खास उपचार छैन। यो भाइरस एक दुई हप्तामा आफैँ निको हुन्छ। उच्च ज्वरो कम गर्न प्यारासिटामोल खाने तर दुःखाइ कम गर्ने औषधि नखान चिकित्सकको सुझाव छ। पानी तथा पोसिलो खानेकुरा प्रशस्त मात्रामा खाने, पूर्णरूपमा आराम गर्ने चिकित्सकको सुझाव छ। डेंगुका जटिल लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था लैजान डा. चालिसेले सुझाव दिए।

डेंगु भाइरसबाट बच्ने उपाय ?

लामखुट्टेको वासस्थान सफा गर्नु नै डेंगु नियन्त्रणको प्रमुख कारण भएको विज्ञ बताउँछन्। डा। चालिसेका अनुसार बच्ने उपाय डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, बिहान दिउँसो राति जुनसुकै बेला झुल लगाएर सुत्ने, पूरा बाहुला भएको पूरा शरीर ढाक्ने लुगा लगाउने, शरीरका खुला भागमा लामखुट्टे धपाउने विधि अपनाउन चिकित्सकको सुझाव छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर