“दलाल, ठग, भ्रष्टाचारी र तस्कर छटपटियो, तिनका संरक्षक सलबलायो”

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शुरुवात गरेको भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र दोषी कोही पनि उम्कन नसक्ने बताएका छन् । गोरखाको अजिरकोट गाउँपालिका–३ को भच्चेक आधारभूत अस्पतालको आज शुक्रबार उद्घाटन गर्दै उनले वर्तमान सरकार रहुन्जेलसम्म भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताए । ‘कोही निर्दोष फस्ने काम हुँदैन’, उनले भने, ‘तर कोही दोषी र अपराधीलाई छोड्ने काम पनि हुँदैन, जुन दिनसम्म सरकार रहन्छ त्यति बेलासम्म सुशासनको अभियानलाई सरकारले अझ प्रभावकारी रूपमा निरन्तर अगाडि बढाउनेछ ।’ उनले अपराध गर्नेलाई अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा कानुनको दायरामा ल्याएर दण्डित गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

‘मिटरब्याजी पीडित नागरिकलाई न्याय दिन मिटरब्याजीविरुद्धको अभियान पनि चल्दैछ’, गृहमन्त्री श्रेष्ठले भने, ‘जतिजति सुशासनको अभियान चल्दैछ र नागरिकको पक्षमा काम हुँदैछ, त्यतित्यति नै भ्रष्टाचारी र तस्कर आत्तिएर सरकारलाई अगाडि बढ्न नदिन, भाँजो हालेर रोक्नका लागि विभिन्न षड्यन्त्र गरिरहेका छन् ।’ उनले भने, ‘यो नियम नै हो, यस कारण अहिले दलाल, ठग, भ्रष्टाचारी र तस्कर छटपटियो, तिनका संरक्षक सलबलायो, सरकारलाई अप्ठेरो पार्‍यो भनेर तै चुप मै चुप भएर बस्ने पक्षमा सरकार छैन, त्यसरी हामी बस्दैनौँ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर