तिजलक्षित गीत र भिडियो धमाधम

काठमाडौँ । तिज आउन अझै एक महिना बाँकी रहँदा सञ्चार माध्यम र युट्युबहरूमा तिजलक्षित गीत र भिडियो धमाधम आउन थालेका छन् । यस वर्ष साउनमा मलमास परेकाले असोज १ गते मात्र हिन्दु महिलाले मनाउने  तिज पर्व परेको छ । पुरुषोत्तम मासको व्रत सकिँदा नसकिँदै सञ्चार माध्यममा र सामाजिक सञ्जालमा छाउन थालेका तिजका गीतले महिलाहरूमा तिजको रौनक देखिन थालेको छ । गायकगायिका र म्युजिक भिडियो निर्माताहरू तिजका गीत बजारमा ल्याउने चटारो बढेको बताउँछन् ।  दिनहुँ जस्तो तिजका गीतका भिडियो बनाउन प्रस्ताव आउन थालेको भिडियो निर्माता एवं निर्देशक कृष्ण रूपाखेती बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजार चलेका गायकगायिकाको भाउ यति बेला सुनभन्दा पनि चर्को छ । तिजको लहरमा लहड बनेर आएका गीतहरूको आयु पनि यही एक डेढ महिना रहने हो ।”

यही क्रममा गायिका अञ्जु श्रेष्ठको तिजको लहर बोलको गीत सार्वजनिक भएको छ । गीतमा अञ्जुलाई  बीना भट्टराईले गायनमा साथ दिनुभएकी छ । गीतमा भट्टराईकै शब्द रहेको छ भने सङ्गीत मीन गुरुङको रहेको छ । गीतको एरेन्ज सुदीप सागरले गर्नुभएको हो । गीतको मिक्सिङ एवं मास्टरिङ श्यामश्वेत रसाइलीले गर्नुभएको छ । गीतको भिडियोमा मुख्य दीपाश्री निरौला देखिनुभएकी छ भने स्वयं अञ्जु श्रेष्ठ र बीना भट्टराईको अभिनय रहेको छ । गीतको निर्देशक तथा छायाङ्कन ज्ञानेन्द्र शर्माले गर्नुभएको हो । नृत्य निर्देशक सन्तोष राजवाहक र सम्पादन विवेक उप्रेतीको रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर