एमालेले अध्यक्षबाहेकका नेताको फोटो प्रयोग नगर्ने निर्णय

काठमाडौं ।  एमालेले कार्यक्रमको गरिमा र मर्यादा बढाउन भन्दै पार्टी कार्यक्रममा अध्यक्षको मात्रै फोटो प्रयोग गर्ने भएको छ। एमालेको सचिवालय बैठकले अध्यक्षबाहेकका नेताको फोटो प्रयोग नगर्ने निर्णय गरेको जानकारी उपमहासचिव विष्णु रिमालले दिए । यतिमात्रै होइन एमालेले सार्वजनिक कार्यक्रममा मञ्चको प्रयोग वक्ताले मात्र गर्ने निर्णय गरेको छ ।

‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरूले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य नेताको फोटो प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने र अतिथि र वक्ताहरूलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने’ रिमालले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रम व्यवस्थासम्बन्धी निर्णय सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । ‘हिजो एमालेको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रम व्यवस्थापनसम्बन्धी निर्णय सार्वजनिक गर्नुभयो’ रिमालले सामाजिक संजालमा लेखेका छन्, ‘उहाँको उद्‌घोषलाई हलभरि उपस्थित सयौंको संख्याका उद्यमी, व्यवसायी र आमन्त्रित विभिन्न तह तथा तप्काका व्यक्तिहरूले ताली बजाएर स्वागत गर्नु भयो ।’

त्यस्तै एमालेले कार्यक्रममा तथा कार्यक्रम शुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने, कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय पनि गरेको छ । यो निर्णयलाई परिपत्रमार्फत पार्टी तहमा प्रेषित गरिने पनि रिमालले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर